प्रधानमन्त्रीसँग नागरिकता विधेयकका सम्बन्धमा छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँणले यही फागुन २३ र २५ गते मन्त्रालयमा प्रतिनिधिसभा सदस्यहरुसँग भएको छलफलबारे जानकारी गराएका थिए। छलफलमा उनीहरुले राजनीतिक दलका नेताहरूले राखेका धारणाबारे प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका थिए ।
उक्त छलफलमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र विधेयकलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा समस्या देखिएको भन्दै सरकारले राजनीतिक दलबीचको सहमतिमा उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट
गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् ।
गृह मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो । भेटमा चिनियाँ उच्चपदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।
गृहमन्त्रीसँग विश्वकर्माको भेट
गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो ।
छलफलमा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमतिबमोजिम रिहाइ गर्न आग्रह गरे ।
गृहमन्त्री खाँणले प्रक्रिया पुर्याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने आश्वासन दिएका छन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ ।
छलफलमा नेपाल सरकारकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ ।







डिसी नेपाल







Facebook Comment