पर्वतको विकट गाउँमा डिप बोरिङबाट घरघरमा धारा

डिसी नेपाल
३ चैत २०७८ २२:४१

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ पोखराचौरस्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । सो पानी यहाँका १७ घरमा वितरण गरिएको छ । विष्टपानी नाम भए पनि यो गाउँमा पानीको चरम अभाव थियो । एक हजार २४८ मिटर उचाइको सो गाउँमा १२० मिटर जमिनमुनिबाट पानी निकालिएको छ ।

दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पानी पुग्छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उक्त आयोजनाको बिहिबार उद्घाटन गरेका छन् ।
फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको बताउँदै शर्माले अरु ठाउँमा पनि यस्तो आयोजना सुरु गर्न सकिने सम्भावना रहेको बताए । नगरपालिकाले यो योजनाका लागि रु ४० लाख खर्चेको छ । यसअघि पनि विष्टपानी गाउँमा पानी ल्याउनका लागि धेरै प्रयास भएका छन् । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमिनमुनीबाट पानी तान्ने कुरा नमूना काम रहेको चर्चा गरे ।

शङ्करपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी सङ्कलन गरेरसमेत पानीको गर्जो टार्ने चलन थियो । यो गाउँमा लमाए खोलाबाट पानी तानेर वितरण गर्ने वृहत लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाले भने शङ्करपोखरीवासीले सुविधाको सास फेर्न थालेका छन् । विष्टपानी खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष अशोक भुसालले पानीका लागि भएको लामो समयको सास्ती अन्त्य भएकोमा खुसी व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *