स्थानीय निर्वाचन : आफूले बहुमत ल्याउने सबै दलकाे दाबी

डिसी नेपाल
६ चैत २०७८ १४:४१

महोत्तरी। नेपाली कांग्रेस महाेत्तरीका जिल्ला सभापति नागेश्वर यादवले एउटा सार्वजनिक कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जित्ने दाबी गरे। अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निक्कै बलियो भएको जिकिर गर्दै उनले जिल्लाका १५ पालिकामध्ये १२ मा जित हासिल गर्ने विश्वास व्यक्त गरे।

यादवको जस्तै जिल्लामा आफ्नो स्थानको विषयमा दाबी गर्ने नेताहरूको अहिले तछाडमछाड नै चलेको छ। एमाले जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले ५० प्रतिशत स्थानीय तह आफ्नाे पार्टीकाे पोल्टामा पर्ने जिकिर गरे ।

एमाले फुटेर नेकपा एस बनेको भए पनि एमालेको कुनै पनि मत नकाटिने नेता बलाम्पाकीको ठोकुवा छ। माओवादी केन्द्रबाट समेत जिल्लाका केही प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेको हुनाले जिल्लामा आफूहरु दोस्राे हुने बलाम्पाकीको भनाइ छ।

माओवादी केन्द्रको पनि उस्तै दाबी छ ।अघिल्लो निर्वाचनमा तीनवटा पालिकामा जित हासिल गरेको माओवादीले यो निर्वाचनमा सात पालिकामा जित हासिल गर्ने बताउँदै आएकाे छ । ‘हाम्रा चुनाव लक्षित कार्यक्रम अगाडि बढिसकेको छ, जिल्ला कार्यसमितिको सर्वेक्षणमा हामी यसपालि सात पालिकामा जित्छौं’, माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘व्यक्ति र मतदाताका हिसावले हामी सात पालिकामा बलियो छौ ।’

अघिल्लो निर्वाचनमा जिल्लामा बहुमत ल्याएको तत्कालीन राजपा अहिलेको जसपाले पनि यसपटक आफूहरूको पाेजिसन राम्रो हुने बताउँदै आएकाे छ । अघिल्लो निर्वाचनमा उसले जिल्लाका आठवटा पालिकामा जित हासिल गरेको थियो ।

अघिल्लो निर्वाचनमा आठ पालिकामा तत्कालीन राजपा, तीन पालिकामा माओवादी केन्द्र, तीन पालिकामा कांग्रेस र एक पालिकामा संघीय समाजवादी फोरमले जितेका थियाे । उपनिर्वाचनमा एमालेले पिपरा गाउँपालिकामा जिते पनि उसकाे स्थान निक्कै कमजोर थियो ।

यसपालि नेताहरूले दाबी गरेजस्तो महाेत्तरीमा कसैकाे पनि माहोल छैन । कांग्रेस विवाद नै विवादले थिलथिलाे बनेकाे छ । आन्तरिक कलह र कायम नै छ । महोत्तरीमा पार्टीभित्रको अन्तर्द्वन्द्व र निर्वाचनको वेला हुने अन्तर्घातले जित्ने ठाउँमा पनि हारिरहेको स्विकार गर्छन् नेता चिरन्जीवी हमाल । उनी भन्छन्, ‘हाम्रा साथीहरूले हामीभित्रै एकता हुन नसक्दा पराजय व्यहोर्नुपरेको अवस्था छ’, उनले भने ।

एमालेको त समानान्तर कमिटी नै गठन भएको छ । पार्टीभित्रको तीव्र मतभेदले जिल्लामा अहिलेसम्म अधिवेशन हुन सकेको छैन । नेताहरूको बीचको कलह उत्कर्षमा पुगेको छ । नेताहरूबीचको लडाइँले जिल्लामा सांगठनिक संरचनासमेत कमजोर बनेको छ । अझ पहिलेको निर्वाचनजस्तो बलाम्पाकीले भनेजस्तो जिल्लामा ५० प्रतिशत जित हासिल गर्न त्यति सजिलो छैन ।

माधव नेपाल पक्षधरहरूले जिल्लामा पकड बनाउँदै लगेका छन् । जिल्लाका प्रभावशाली नेता भनेर चिनिने सुरेश राउत, सोमबहादुर कार्की, मीन रापाल नेकपा एसमा छन् ।

माओवादी केन्द्रकाे अवस्था पहिलेकाे जस्तो छैन । जनप्रतिनिधि तथा वडाध्यक्षसहित आधा दर्जन नेताले पार्टी नै परित्याग गरिसकेका छन् । एमसीसीको विषयलाई लिएर नेताहरू विभाजित बनेका छन् ।

जसपाभित्र पहिलेको जस्तो माहोल छैन । नेताहरूबीचको अन्तरकलहले एमालेको जस्तै पार्टी अहिले टुक्रा-टुक्रा बनेको छ । महन्थ ठाकुर, उपेन्द्र यादव जस्ता नेताहरूबीचको अन्तर्द्वन्द्वका कारण अहिले जसपा फुटेर लोसपा बनेको छ । जसपा र लोसपा एकले अर्कोलाई जसरी पनि हराउने अभियानमा लागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *