चुनाबी गठबन्धन नबन्ने देखेपछि ओली देखाएर देउवा तर्साउने प्रचण्डको प्रयास

डिसी नेपाल
९ चैत २०७८ ११:५२

काठमाडौं। स्थानीय, प्रादेशिक र संघीय तहसम्मको निर्वाचनमा अहिलेको सत्ताधारी गठबन्धनलाई नै चुनाबी गठबन्धन बनाएर जान चाहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति देउवालाई घुर्की लगाउने र तर्साउने अवस्थामा पुगेका छन्। यसका लागि उनले अहिलेको गठबन्धन नरहे आफू एमाले अध्यक्ष केपी ओलीसँग मिल्न जाने कार्ड खेल्न थालेका छन्।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। उनीहरुले स्थानीय तहको प्रारम्भिक रिपोर्ट केन्द्रमा पठाएका छन्।

सबै जिल्लाको प्रारम्भिक रिपोर्टमा कांग्रेसले गठबन्धन गरेर चुनाबमा गएमा कांग्रेसका ‘कोर’ मतदाता बिच्किने र उनीहरुले कांग्रेस नेतृत्वले भनेकै आधारमा अर्को दललाई मतदान गर्न नसक्ने बरु अन्य दललाई मतदान गर्न सक्ने भएकोले गठबन्धनले कांग्रेसलाई उल्टै नोक्सानी हुने जोखिम रहेको उल्लेख छ।

कांग्रेस नेतृत्वलाई सबै जिल्लाबाट गठबन्धन नगर्न सुझावसहितको रिपोर्ट पठाइएको प्रचण्डले थाहा पाएपछि  प्रचण्डले कांग्रेस सभापति देउवालाई गठबन्धन गरेरै चुनाबमा जान दबाब दिने रणनीति लिएका छन्। यसका लागि उनले एमाले अध्यक्ष ओलीलाई कार्डको रुपमा प्रयोग गर्न थालेका छन्।

कांग्रेस नेतृत्व अहिलेसम्म गठबन्धनका पक्षमा रहेको भए पनि मतदाता स्तरबाटै आएको रिपोर्टले कांग्रेस नेतृत्वको मनस्थिति बदलिदिन सक्ने प्रचण्डलाई त्रास छ।

प्रचण्डले कांग्रेस सभापति देउवालाई गठबन्धन गरेरै चुनाबमा जान दबाब दिने रणनीति लिएका छन्। यसका लागि उनले एमाले अध्यक्ष ओलीलाई कार्डको रुपमा प्रयोग गर्न थालेका छन्।

अहिलेसम्म कांग्रेसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौलालगायतका नेता चुनावी तालमेलका पक्षमा छन् संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहितका नेता कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा छन्।

चुनावी तालमेलको विषयमा ११ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्णय लिने बताइएको छ। केन्द्रीय समितिको बैठकको मुखैमा जिल्लामा गठित कार्यदलले कांग्रेस नेतृत्वलाई एक्लै चुनावमा जान सुझावसहितको प्रारम्भिक रिपोर्ट पठाएपछि प्रचण्डको गठबन्धन गरेर चुनाबमा जाने रणनीति फेल हुने संकेत देखिएको छ।

यससँगै प्रचण्डले कुनै समय ओलीसँग विद्रोह गरेका तर अहिले एमालेमै रहेका ‘१० भाइ’ नेताहरुमार्फत अर्को अस्त्र चलाउने प्रयास पनि गरेका छन्। नेकपा विभाजित हुनुभन्दा पहिलेदेखि माधव नेपालले पार्टी फुटाउनु अघिसम्म पनि माधव नेपालको साथमा रहेका केही नेताहरु नेपालले पार्टी फुटाएपछि भने एमालेमै बसेका छन्।

प्रचण्डले उनीहरुलाई प्रयोग गरेर एमालेको केन्द्रीय कमिटी बैठकमा ‘बाम एकता’को प्रस्ताव छिराउने प्रयास गरिरहेका छन्। २०७४ को निर्वाचनमा भएको जस्तै बाम गठबन्धन गर्ने प्रस्ताव एमालेको बैठकमा पठाउने प्रचण्डको प्रयास छ।

यसरी पठाइएको प्रस्तावले बाम एकता हुन्छ नै भन्ने कुरामा प्रचण्ड आफैंलाई धेरै आशा छैन। तर, एमालेको बैठकमा यो प्रस्तावबारे छलफल मात्रै चलिदियो भने यसलाई आधार बनाएर देउवालाई तर्साउन र गठबन्धनका लागि दबाब दिन पाइने प्रचण्डको बुझाइ छ।

एमालेको बैठकमा छलफल अगाडि बढ्यो भने त्यसैलाई देखाएर ‘गठबन्धन गर्ने भए गर नत्र ओलीसँग जान्छु’ भनेर देउवा तर्साउने प्रचण्डको रणनीति छ।

बाम गठबनधन भइहाल्छ कि भनेर देउवा पनि डराइरहेको कुरा प्रचण्डले बुझेका छन्। यद्यपि प्रचण्डले कुनै तरिकाले एमालेको बैठकमा बाम गठबन्धनको प्रस्ताव पठाइहाले पनि त्यो गठबन्धन हुने सम्भावना भने देखिँदैन। एमाले अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल बामपन्थी नै होइनन् भनिसकेका छन्।

ओलीले ‘भएको पार्टी फुटाएर प्रतिक्रियावादीको सेवा गर्ने बामपन्थी होइनन्, वामपन्थी एकताभित्र उनीहरु पर्दैनन’ भनिसकेका छन्। एमालेका अरु नेताहरुले समेत प्रचण्डसँग आत्मालोचना गर्ने ठाउँ भए पनि माधव नेपालको हकमा एमालेको ढोका सदाका लागि बन्द भइसकेको बताउने गरेका छन्।

नेकपाको रुपमा आफ्नो पार्टी एमालेमा विलय गराएका प्रचण्डले अहिलेको चुनाबमा गठबन्धन गरेर जाने र केही सिट जित्ने आशा गरेका थिए। तर, अब उनको त्यो आशा निराशामा परिणत भएको छ।

बाम एकता हुन्छ नै भन्ने कुरामा प्रचण्ड आफैंलाई धेरै आशा छैन। तर, एमालेको बैठकमा यो प्रस्तावबारे छलफल मात्रै चलिदियो भने यसलाई आधार बनाएर देउवालाई तर्साउन र गठबन्धनका लागि दबाब दिन पाइने प्रचण्डको बुझाइ छ।

पार्टी विलय गराएर गएसँगै अहिले माओवादीको तल्लो स्तरमा संगठनन छैन। स्थानीय तहको निर्वाचन मुखमा छ तर अब समस्या भएको छ। गाउँ गाउँमा संगठन भएको छैन। भएको युवा शक्ति विघटन भएको अवस्थामा छ। कार्यकर्ता सत्ताभोगी भएका छन्।

अर्कोतर्फ नेपालमा जनस्तरमा एमसीसीको विरोध गर्नेहरुको संख्या ठूलो छ। प्रचण्डले पछिल्ला केही वर्ष एमसीसीको चर्को विरोध गरिरहेका थिए र एमसीसी विरोधी समूहको सहानुभूति पाइरहेका थिए।

तर, वर्षौंसम्म एमसीसीको विपक्षमा बोल्दा बोल्दा अन्तिममा एमसीसीको पक्षमा मतदान गरेर यो सम्झौता अनुमोदन गरेपछि उनीप्रति सहानुभूति राख्ने समूह पनि उनीसँग बिच्किएको छ। आफैंले उचालेर सडकमा ल्याएका जनतालाई निराश पार्दै आफ्नो अडान विपरित संसदमा मतदान गरेपछि उनलाई विश्वास गर्नेको संख्या ह्वात्तै घटेको छ।

यो बीचमा सत्ताधारी गठबन्धनलाई नै चुनाबी गठबन्धनको रुपमा अगाडि लैजाने र कांग्रेसको भोटले केही सिट जित्न सकिने उनको विश्वास थियो। अहिले जिल्लामा गएका कांग्रेसका नेताले केन्द्रमा पठाएको रिपोर्टले उनको यो आशामा पनि तुषारापात गरिदिएको छ।

जिल्लाबाट कांग्रेस नेतृत्वलाई पठाइएको रिपोर्टमा कांग्रेस एक्लै चुनाबमा जाँदा फाइदा हुने, गठबन्धन गरेर जाँदा मतदातामा निराशा देखिने र माओवादीलाई हाल्नु भन्दा एमाले, जनजाति र मधेसीतिर भोट जाने उल्लेख छ। यसले प्रचण्डमा चरम निराशा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *