गठबन्धन बिना प्रचण्डलाई चुनाव जित्न सकसः चितवन कांग्रेस भन्छ-महानगरमा सहयोग गरे बिचार गरौँला !

सम्भव सिंह ठकुरी
१० चैत २०७८ १२:४७

काठमाडौं। बैशाख ३० गते हुने स्थानीय तहको मिति नजिकिएसँगै देश चुनावमय बन्दै गएको छ। चुनावको गरगर्मी बढेसँगै सत्तारुढ गठबन्धनको चुनावी समीकरणको विषयलाई महत्वका साथ हेरिएको छ।

अझ चितवन जिल्लाको निर्वाचन त सबैभन्दा रोचक र कौतुहलताको विषय बन्दै गएको छ। चितवन पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पर्दछ। त्यतिमात्र नभएर भरतपुर महानगरपालिकाका नगर प्रमुख पनि उनको छोरी रेणु दाहाल सोही नगरप्रमुखको नेतृत्वमा रहेकी छिन्।

रोचक विषय के छ भने प्रचण्ड र रेणु दुबैले गठबन्धनबाट चुनाव जितेका थिए। रेणुले नेपाली कांग्रेससँगको गठबन्धनबाट र प्रचण्डले नेकपा एमालेसँगको गठबन्धनबाट।

तर ठिक पाँच वर्ष पछाडि पनि प्रचण्ड र रेणु दुवैलाई कसै न कसैको सहायता बिना चुनाव जित्न सकस परेको प्रचण्डको अभिव्यक्तिबाट बुझ्न सकिन्छ। प्रचण्डका पछिल्लो अभिव्यक्ति जसरी पनि कांग्रेससँगै चुनावी गठबन्धन गर्ने, नभए एमालेसँग भएपनि गठबन्धन गर्नुपर्ने बाध्यतामा उनी छन्। त्यस्तोमा एमालेले प्रचण्डसँग तालमेल नगर्ने भनिसकेको छ।

यतिबेला प्रचण्ड एमाले र कांग्रेस दुबै दलको अविश्वासको पात्र बनेका छन्। गत स्थानीय तहमा कांग्रेससँग गठबन्धन गरि छोरी रेणु दाहाल जिताएर संसदीय निर्वाचनमा एमालेसँग गठबन्धन गरि कांग्रेसलाई घात गरेको कांग्रेसको ठम्याई छ भने तत्कालीन नेकपामा अन्र्तरद्वन्द्व फैलाएर दुई तिहाइ मत पाएको कम्युनिष्ट सरकारलाई घात गरेको एमाले बुझाइ छ।

भलै अहिले कांग्रेस र माओवादी केन्द्र सत्तारुढ दल भएपनि कांग्रेसका अधिकांक्ष नेता चुनावी गठबन्धनको विपक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्। कुनैपनि हालतमा माओवादीसँग गठबन्धन गर्न हुँदैन भनेर महामन्त्री गगन थापासहित सभापति देउवा निकटका धेरै नेताहरु चुनावी गठबन्धनको विपक्षमा उत्रिएका छन्।

प्रचण्ड भने कुनैपनि हालतमा गठबन्धन गरेरमात्र चुनावमा होमिने अभिव्यक्ति दिँदै आएका छन्। बिहीबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरू कुरा गर्दै सत्तारुढ गठबन्धनसँग तीन तहकै चुनावमा गठबन्धन हुने बताए।

चितवन कांग्रेस त एक्लै चुनावमा होमिने भनेको छ नि ? भन्ने प्रश्नमा चितवन कांग्रेसले भनेर केही हुँदैर केन्द्रबाट नै गठबन्धन हुने प्रचण्डले बताएका छन्। उनले भने, ‘गठबन्धन त अहिले पनि भइरहेकै छ नि। यही गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ।’

के भन्छ चितवन कांग्रेस ?

चुनाव भनेको मतमा निर्भर हुने कुरा भएकाले गठबन्धनमात्र सबैथोक नहुने चितवन कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल बताउँछन्। प्रचण्डले कांग्रेससँग गठबन्धन नै गर्ने भए भरतपुर महानगरमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।

‘चितवन कांग्रेसको नीतिगत निर्णय भनेको कांग्रेस सबै तहमा एक्लै निर्वाचनमा सहभागी हुने हो। यो कुरा हामीले केन्द्रमा पनि जानकारी दिएका छौँ,’ खनालले भने, ‘यदि गठबन्धन नै गर्नुपर्ने अवस्था आयो भने महानगर हामीलाई सहयोग गनुपर्छ।’

महानगर कांग्रेसलाई दियो भने संसदीय निर्वाचनमा प्रचण्डलाई सघाउन कांग्रेस तयार हुन्छ ? भन्ने प्रश्नमा खनालले  भने, ‘प्रचण्ड स्थिर छैनन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेससँगको सहयात्रा १० वर्षसम्म कसैले भत्काउन सक्ने छैन भनेका थिए। तर त्यो बीचमा के-के भयो सबैलाई थाहा छ। त्यसकारण उनले सुरुमा हामीलाई सहयोग गर्नुपर्‍याे  पछिको विषय हामी सोचैँला।’

चितवन कांग्रेसका अर्का नेता तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वउपाध्यक्ष निलकण्ठ रिजाल पनि गठबन्धन भन्ने कुरा एउटाले मात्र भनेर नहुने बताउँछन्।

‘चितवन जिल्ला भनेको कांग्रेसको महासागर हो। यहाँ कांग्रेस एक्लैले पनि जित्न सक्छ। त्यस कारण अब गठबन्धनको नाममा कांग्रेसले मत कसैलाई पनि मत हाल्दैन। गठबन्धन नै हुने भए भरतपुर महानगरमा कांग्रेसको उम्मेदवारलाई अब माओवादीले जिताउनुपर्छ। पहिले प्रचण्ड पुत्री रेणु दाहाललाई कांग्रेसले मत दिएर निर्वाचित गर्‍याे। त्यसकारण अब कांग्रेसलाई गुण तिर्ने पालो माओवादीको हो,’ रिजालले भने।

महानगरमा माओवादीले कांग्रेसलाई सहयोग गर्यो भने संसदीय निर्वाचनमा प्रचण्डलाई कांग्रेसले सहयोग गर्छ त? भन्ने डिसी नेपालको प्रश्नमा रिजालले भने, ‘अहिले हामी स्थानीय तहको चुनाव नजिक छौँ त्यसकारण अहिले स्थानीय तहमा माओवादीले उदारता देखाउनुपर्छ। संसदीय निर्वाचन आउन केही समय भएकाले त्यो विषयमा छलफल गरौँला। तर चितवनको कांग्रेस रुख बाहेक अन्यमा मत हाल्न नसक्ने अवस्थामा रहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *