गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री देउवा

डिसी नेपाल
१० चैत २०७८ १४:५३

तनहुँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन्। नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन्।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे। ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ। स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ। ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन। प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने।

प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए। तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियाे। कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने नगर्ने विषयमा मतभेद रहेकै बेला प्रधानमन्त्री देउवाले गठबन्धन चुनावसम्म रहने बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *