अन्तिम ओभरमा नो बल फाल्दा भारत विश्वकपबाट बाहिरियो

डिसी नेपाल
१३ चैत २०७८ १५:२२

काठमाडौं। भारतलाई अन्तिम ओभरमा नो बल फाल्नु निकै महंगो साबित भएको छ । महिला एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा अन्तिम ओभरमा फालेको यही नो बलका कारण भारत विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिकाले रोमाञ्चक प्रतिस्पर्धामा धारतलाई ३ विकेटले पराजित गरेको छ । भारत बाहिरिएसँगै वेष्ट इण्डिजले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

भारतले अन्तिम २ बलमा ३ रन बचाउनुपर्ने थियो । २७५ रनको लक्ष्य पच्छ्याएको दक्षिण अफ्रिकाको स्कोर अन्तिम २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा २७२ रन थियो । दीप्ती शर्माको ओभरको पाँचौं बलमा दक्षिण अफ्रिकाकी मिग्नन डु प्रिज हरमनप्रित कौरको हातबाट क्याच आउट भएकी थिइन् । तर, अम्पायरले जाँच गर्दा दीप्तीको खुट्टा लाइनभन्दा अगाडि गएको पाइएपछि त्यो बल नो बल ठहरियो ।

यससँगै दक्षिण अफ्रिकाले गुमाएको विकेटका जीवनदान पायो । साथमा थप १ बल खेल्न पायो र थप एक रन पनि पायो । यससँगै अब दक्षिण अफ्रिकालाई २ बलमा २ रन चाहिने भयो । दक्षिण अफ्रिकाले बाँकी २ बलमा २ रन लिएर सहज रुपमा जीत हासिल गर्यो । यदि त्यो बल नो बल नभएको भए दक्षिण अफ्रिकालाई अन्तिम बलमा ३ रन चाहिने अवस्था हुन्थ्यो र सेट भएकी ब्याटर पनि आउट हुन्थिन् । यो खेल भारतले जितेको भए दक्षिण अफ्रिका र भारत दुवै सेमिफाइनल पुग्थे र वेष्ट इण्डिज बाहिरिन्थ्यो । तर भारत हारेपनि वेष्ट इण्डिज सेमिफाइनल पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *