प्रतिबन्धले रुसको तेल व्यापारलाई ठूलो प्रभाव पारेन, जर्मनी, इटली लगायतका देशले अझै किन्दै

डिसी नेपाल
१६ चैत २०७८ १७:१८

काठमाडौं। युक्रेनमा आक्रमण गरेका कारण रुसमाथि पश्चिमी देशहरुले प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसी तेल आयातमा पनि प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्धले पनि रुसको तेल व्यापारमा उल्लेख्य प्रभाव भने पारेको छैन । किनकि रुसमाथि प्रतिबन्ध लगाउने प्रमुख युरोपेली देश जर्मनी, इटली सहित कैयौं देशहरुले अझै पनि रुसी तेल किनिरहेका छन् । युरोपेली युनियनले रुसको तेलमा प्रतिबन्ध लगाउन खोजे पनि युरोपका कैयौं देश यसमा सहमत भएका छैनन् ।

युरोपेली संघको तर्फबाट प्रतिबन्ध लगाउनको लागि सबै २७ सदस्य देशको सहमति जरुरी छ । तर, सबै देशको सहमति नभएका कारण युरोपेली देशले अझै पनि रुसी तेल किनिरहेका छन् । यसका अलावा इन्धनको तेस्रो ठूलो उपभोक्ता देश भारतले पनि रुसी तेल किनिरहेको छ । जसका कारण प्रतिबन्धका बीच पनि रुसी तेलको व्यापार निर्वाध चलिरहेको छ ।

भारतका दुई ठूला कम्पनी हिन्दुस्तान पेट्रोलियम र इण्डियन आयलले हालै रुससँग ५० लाख ब्यारल तेल किनेका छन् । भारतको निजी कम्पनी नायरा इनर्जीमा रुसको रोसनेफ्टको साझेदारी छ र यो कम्पनीले पनि १८ लाख ब्यारल रुसी तेल किनेको छ । बुल्गेरियाको नेफ्टोभिम बर्जस नामक रिफाइनरीको स्वामित्व रुसको ल्युक आयलसँग छ । यसको ६० प्रतिशत इन्धन रुसबाट आउँछ ।

जर्मनीको सबैभन्दा ठूलो रिफाइनरी मीरोमा २४ प्रतिशत साझेदारी रुसी कम्पनी रोसनेफ्टको छ । कम्पनीको १४ प्रतिशत कच्चा तेल रुसबाट आइरहेको छ । यसका अलावा जर्मनीको पीसीके श्वेटमा रोसनेफ्टको ५४ प्रतिशत साझेदारी छ । यो कम्पनीले पनि रुसी कच्चा तेलको प्रयोग गरिरहेको छ । जर्मनीको अर्को रिफइनरी लेउना पनि रुसी कच्चा तेलबाटै चलिरहेको छ ।

इण्डोनेसियाको सरकारी ऊर्जा फर्म पीटी पर्टामिनाले पनि रुसको कच्चा तेल किन्ने विषयमा विचार गरिरहेको छ । ग्रिसको सबैभन्दा ठूलो रिफाइनरीहेलेनिक पेट्रोलियमले आफ्नो आवश्यकताको १५ प्रतिशत कच्चा तेल रुसबाटै किनिरहेको छ । इटलीको सबैभन्दा ठूलो रिफाइनरी आइएसबीमा ल्युक आयलको नियन्त्रण छ । त्यहाँ पनि कच्चा तेल रुसबाटै आइरहेको छ ।

हंगेरीको तेल कम्पनी एमओएल क्रोएसियाको हंगेरी र स्लोभाकियामा गरी ३ रिफइनरी छन् । यी रिफाइनरीमा रुसबाटै तेल आइरहेको छ । हंगेरीले रुसमाथि ग्यास र तेल क्षेत्रमा प्रतिबन्ध लगाउने कुराको विरोध गरेको थियो । नेदरल्याण्डको जिल्याण्ड रिफाइनरीमा ल्युक आयलको ४५ प्रतिशत साझेदारी छ । यद्यपि यो कम्पनीले रुसबाट तेल ल्याएको वा नल्याएको विषयमा जवाफ दिन अस्वीकार गरेको छ । नेदरल्याण्डकै अर्को कम्पनी एक्सन मोबिलले पनि यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *