सलमान खानको घरमा गोली चलाएको आरोप लागेका एक अभियुक्तको प्रहरी हिरासतमै मृत्यु

डिसी नेपाल
२० वैशाख २०८१ १५:२१

काठमाडौं । सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तले बुधबार प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

अभियुक्त अनुज कुमारलाई थापान अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी पञ्जाबका बासिन्दा थिए ।

बिहान करिब ११ः३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा तन्नाको सहारामा आत्महत्या गर्ने प्रयास गरेका थिए ।

खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।

दक्षिण मुम्बईको आजाद मैदान पुलिस स्टेशनमा दुर्घटना मृत्युको मामला दर्ता गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार आरोपीले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पञ्जाबको फाजिल्का जिल्लाबाट अनुजकुमार थापन (३२ वर्ष) र सोनुकुमार बिश्नोई (३५ वर्ष)लाई पक्राउ गरेको थियो ।

पक्राउ परेका यी दुई व्यक्तिमाथि सलमान खानको बान्द्रास्थित घरमा आक्रमण गर्ने अभियुक्तलाई दुईवटा पेस्तोल र गोली उपलब्ध गराएको आरोप छ ।

अप्रिल १४, २०२४ मा बिहान ५ बजे मुम्बईको ग्यालेक्सी अपार्टमेन्टको दिशामा दुई अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए ।

सलमान खान मुम्बईको बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टमा बस्छन् । गोलीबारी हुँदा सलमान खान र उनका परिवारका सदस्य घरमा थिए ।

गोली चलेको घटना सीसीटीभी क्यामेरामा पनि कैद भएको छ । आक्रमणकारीले घटनाका क्रममा प्रयोग गरेको मोटरसाइकल घटनास्थलबाट केही दूरीमा बरामद भएको छ ।

घटना भएको ७२ घण्टा भित्र मुम्बई अपराध शाखाले गुजरातको भुजबाट विक्की कुमार गुप्ता (२४ वर्ष) र सागर कुमार (२३ वर्ष) नाम गरेका दुई संदिग्धलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि गोली प्रहारको घटनामा संलग्नता रहेको आरोप छ । दुवै अभियुक्तलाई १४ दिनको लागि प्रहरी हिरासतमा पठाइएको छ । जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले घटनाको जिम्मेवारी लिएका छन् ।

लरेन्स बिश्नोई गिरोह विरुद्ध कडा कारबाही गर्दै अपराध शाखाले महाराष्ट्र संगठित अपराध रोकथाम अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ।

यस मुद्दामा लरेन्स बिश्नोई, उनका भाइ अनमोल बिश्नोई र अन्य ६ जनालाई आरोपी बनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *