दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

डिसी नेपाल
१६ चैत २०७८ १७:५२

पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् ।

गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्मगाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यसवर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताए । उनले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताए।

अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने दाबी गरे । गाउँपालिकाको आयोजनामा दोस्रोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

आजदेखि यही चैत २० गतेसम्म सञ्चालन हुने वडास्तरीय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु एक लाख ५१ हजार १११, द्वितीय हुनेले रु एक लाख एक हजार १११ र तृतीय हुनेले रु ५१ हजार १११ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए ।

सो अवसरमा रत्यौली प्रतियोगितासमेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितासमेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *