करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

डिसी नेपाल
१७ चैत २०७८ १६:२४

काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शृंखलाअन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी(पिएनजी)लाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै एक सय ६६ रनमात्र बनाउन सक्यो ।

पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ६२ रन बनाए । उनले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३।४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए ।

यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रनको योगफल खडा गरेको थियो ।

नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए ।

त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।

यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए ।

पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुआ र नोसैना पोकनाले समान एक विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *