स्थानीय तह निर्वाचनमा अछामका महिलाको अर्थपूर्ण सहभागीताका लागि राजनीतिक दलसँग छलफल

डिसी नेपाल
१८ चैत २०७८ १९:५४

अछाम । अछामका महिला अगुवाले आगामी स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागीताको सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन् ।

जिल्लामा शीर्ष पार्टीका नेतासँग छलफल गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुखमा महिलाको स्थान सुरक्षित हुनुपर्नेमा माग गरेका थिए ।

हरेक पार्टीले महिला उम्मेदवार बनाउन सहभागी महिला अगुवाले दबाब दिएका थिए । समबिकास नेपाल अछामको आयोजनामा भएको कार्यक्रममा प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले प्रमुखमा दाबेदार गर्ने महिलाले वडाबाटै नेतृत्वका लागि नाम पठाउन आग्रह गरे ।

नेतृत्व विकास र सशक्तीकरणका लागि पार्टी जहिले पनि प्रतिबद्ध रहेको उनले बताए । सभापति शाहले आगामी दिनमा महिलालाई दिइएको पद अनुसार जिम्मेवार बनाउँदै पार्टीले सम्मान दिने बताए ।

नेकपा एमालेका अध्यक्ष चन्द्र बोहराले महिलालाई नेतृत्व दिने विषयमा सबै दलले साझा धारणा बनाउनु पर्नेमा जोड दिए । पार्टीहरू विधि, विधान र सिद्धान्तको आधारमा अघि बढ्ने भएकाले गठबन्धनका नाममा महिलाको अधिकार खोस्ने कार्य भएको बताए ।

कानुनी कुरामा हरेक जानकार बन्नु पर्नेमा जोड दिँदै संविधानले बनाएको नियम अनुरूप एमाले पार्टी अघि बढ्ने बताए । छलफल कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटीले महिलालाई नेतृत्व दिनमा पार्टी जहिले पनि अग्रसर रहेको बताए ।

२०७४ को निर्वाचनमा समेत स्थान दिएको बताउँदै अबको निर्वाचनमा वडा तहदेखि नै स्थान दिने बताए । नेकपा एकीकृत समाजवादी अछाममा सहसचिव नयन सोडारीले आफ्नो पार्टीले महिलालाई उचित स्थान दिएको बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारमा रहेकोले क्षमताका आधारमा वडा, गाउँपालिका र नगरपालिकामा महिलालाई स्थान दिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *