मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौंका धारामा पुग्न दुई साता लाग्ने

डिसी नेपाल
२९ चैत २०७८ १३:४५
216
Shares

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे।

गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो। तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उनको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो।

सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो। सोही आधारमा आजबाट पानी सुरूङमार्गमा पठाइएको हो। उक्त पानी काठमाडौैंमा उपलब्ध हुन भने अझै दुई साता लाग्नेछ।

बाढीले मेलम्चीको मुहानमा क्षति पुर्‍याएको थियो। उक्त क्षेत्रमा मर्मत सम्भार तथा सरसफाईको काम सकिएको छ। पुल तथा सडक निर्माण लगायतका आवश्यक भौतिक संरचना पुनर्निर्माणको काम भने जारी नै छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरूङमार्गमा पानी पठाउने काम सम्पन्न भएको बताए।

उक्त पानी काठमाडौंका धारा धारामा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ। गत चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौंमा झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर १७ करोड लिटर पानी पठाइएको थियो।

परीक्षणका लागि भन्दै १ असारमा सुरूङमा पानी पठाउन बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्ची आयोजनामा क्षति पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *