सिन्धुपाल्चोकका विपद् प्रभावितको पुर्नःस्थापनामा गृहमन्त्रीले बढाए सक्रियता

डिसी नेपाल
१ वैशाख २०७९ १३:१८

काठमाडौं।गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनर्निर्माण तथा पुर्नःस्थापनामा सक्रियता बढाएका छन् ।

गृहमन्त्रीले मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् व्यवस्थापन कोष मार्फत निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई गति प्रदान गरेका हुन् ।

हालसम्म सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाको लागि ५ करोड ६ लाख २६ हजार २५० रुपैयाँ पठाइसएिको गृहले जानकारी दिएको छ ।

गृहका अनुसार पुनर्निर्माणका २१४ र पुनस्र्थापनाका ६२५ जना लाभग्राहीको पहिलो किस्ता वापतको अनुदान र अस्थायी आवासतर्फको पहिलो किस्ता वापत गरी ३ करोड ६३ लाख २६ हजार २५० रुपैयाँ पठाइएको छ ।

यस्तै, २८६ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि १ करोड ४३ लाख रुपैयाँ अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ । गत चैतको अन्तिम साता बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले थप अनुदान रकम माग तथा वितरण गर्न पनि निर्देशन दिएको छ ।

बैठकले सिन्धुपाल्चोकमा कायम गरिएका ९७६ लाभग्राहीको प्रमाणित विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई आग्रह गरेको छ ।

हालसम्म जुगल गाउँपालिकाका २०८ र मेलम्ची नगरपालिकाका १४१ गरी कूल ३४९ लाभग्राहीलाई मात्र अस्थायी आवास तर्फ अनुदान प्रदान भएको जनाउँदै प्राधिकरणले भुक्तानी दिन बाँकी लाभग्राहीलाई समेत अनुदान उपलब्ध गराउन भनेको छ ।

यस्तै, अनुदान लागत सहभागिताको लागि प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत, महानगरपालिका तथा उपमहानगरपालिकाले व्यहोर्ने २० प्रतिशत, नगरपालिकाले व्यहोर्ने १५ प्रतिशत र गाउँपालिकाले व्यहोर्ने १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइदिन पनि प्राधिकरणले अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *