लट्रीमा जितेको ३ करोड लिन पैदल २ देश पार गरेर गए, तर त्यहाँ फसे

डिसी नेपाल
४ वैशाख २०७९ १०:५०
104
Shares

काठमाडौं । बेल्जियममा अवैध रूपमा बसिरहेका एक अल्जेरियन आप्रवासीले स्क्र्याच कार्डमा जितेको अढाइ लाख युरो (३ करोड ३२ लाख रूपैयाँ) ज्याकपट दाबी गर्न संघर्ष गरिरहेका छन् । उनीसँग आफ्नो पहिचान प्रमाणित गर्ने कागजात छैनन् । अधिकारीहरूले भने उनले आफ्नो पहिचान प्रमाणित गर्न सकेमा मात्र भुक्तानी गर्न सकिने बताएका छन् ।

“मेरो ग्राहक गैरकानुनी अवस्थामा छन्, उनीसँग कुनै कागजात छैनन् र कुनै बैंक खाता छैन,” २८ वर्षीय यी व्यक्तिका वकिल अलेक्ज्याण्डर भर्सट्रेटले एएफपीलाई भने “हामी ती कागजातहरू खोज्दैछौं जसबाट उनको पहिचान प्रमाणित गर्न सक्छन्। उसले अल्जेरियामा आफ्नो परिवारलाई सम्पर्क गर्नुपर्नेछ।”

भर्सट्रेटका अनुसार विजयी स्क्र्याच कार्ड हाल ब्रुग्स सहरको एक अदालतले राखेको छ । जित्ने व्यक्तिको तर्फबाटउनका तीन साथीहरूले यो काट्डको भुक्तानी लिने असफल प्रयास गरेपछि अदालतले कार्ड राखिदिएको हो । विजयी व्यक्तिका साथीहरूलाई पनि चोरीको आशंकामा पुलिसले एक रातको लागि हिरासतमा लिएको थियो । पछि वास्तविक विजेता आफ्नो वकिलको साथ अगाडि आएपछि उनीहरूलाई रिहा गरियो ।

विजयी टिकट केही हप्ता अघि जीब्रुग्गेमा खरिद गरिएको थियो। बेल्जियमको यो बन्दरगाह सहर ट्रक वा कन्टेनरमा लुकेर इङ्गल्याण्ड पुग्न खोज्ने आप्रवासीहरूका लागि लोकप्रिय गन्तव्य हो। यी विजेता बेल्जियममा शरणार्थीको रूपमा बस्नको लागि आवेदन दिन चाहँदैनन् । उनका वकिलका अनुसार उनलाई पुरस्कार नपाएसम्म देश निकाला नगरिने स्थानिय अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।

लट्री टिकट बेच्ने खुद्रा विक्रेतालाई नगदमा यस्तो पुरस्कार दिन निषेध गरिएको छ। विजेताले १ लाख युरोभन्दा बढीको कुनै पनि पुरस्कारको लागि ब्रसेल्समा कम्पनीको मुख्यालयमा जानुपर्ने बेल्जियमको राष्ट्रिय चिठ्ठाका प्रवक्ता जोक वर्मोरेले बताए।

विजेताका तीनजना साथीहरू त्यहीँ गएका थिए । “विजेता हाम्रो ठाउँमा देखा परेनन्, हामीले उहाँलाई देखेका छैनौं, जसले अहिलेको लागि पुरस्कार प्रदान गर्ने प्रक्रियालाई अवरुद्ध गरिरहेको छ,” वर्मोरेले भने। उनले जीतको दाबी गर्न आवश्यक पर्ने सर्तहरू वा कागजातहरूको प्रकृति निर्दिष्ट गरेनन्। “यो ब्रुग्समा सार्वजनिक अभियोजकको कार्यालयको हातमा छ,” उनले भने। बेल्जियमका सञ्चारमाध्यमका अनुसार अल्जेरियन व्यक्तिले ४ महिनाअघि आफ्नो देश छोडेका थिए । उनी डुङ्गाबाट स्पेन पुगेका थिए । त्यसपछि उनी स्पेनबाट फ्रान्स हुँदै पैदलै बेल्जियम पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *