राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड

डिसी नेपाल
४ वैशाख २०७९ ११:०३

चितवन। राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए।

खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ। अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरेका छन्।

‘स्थानीय प्रशासनले घटनाको तत्काल छानविन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस्। राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भनेका छन्।

घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए। ‘हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *