गाँजा भनेर हरियो साग दिएर ठगी गरेको भन्दै प्रहरीमा उजुरी

डिसी नेपाल
४ वैशाख २०७९ १७:२४
3.0k
Shares

काठमाडौं । एक व्यक्ति यस्तो उजुरी लिएर प्रहरीमा पुगे कि प्रहरी पनि छक्क परे । वास्तवमा, ती व्यक्ति गाँजा लिन लागुऔषध व्यापारीकहाँ गएका थिए । तर गाँजाको सट्टा उनलाई हरियो साग दिइयो । यसबाट रिसाएको ती व्यक्ति सिधै प्रहरी चौकीमा उजुरी गर्न पुगे । प्रहरी चौकीमा बसेर एक व्यक्तिले गाँजा व्यापारीको उजुरी गरेको भिडियो पनि सार्वजनिक भएको छ, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘डेली स्टार’को रिपोर्ट अनुसार यो मामिला इन्डोनेसियाको हो । भाइरल भिडियोमा एक व्यक्ति प्रहरी चौकीमा कुर्सीमा बसेको देखिन्छ । ती व्यक्तिले प्रहरीलाई आफू व्यापारीसँग गाँजा लिन गएको बताउँछन् तर व्यापारीले पैसा लिएर गाँजाको सट्टा कागजमा बेरिएको सेलेरी (एक प्रकारको हरियो तरकारी) थमाइदिएको उनले बताएका छन् । ती व्यक्ति यसबारेमा उजुरी लिएर दक्षिण सुमात्राको पालेम्बाङ प्रहरी चौकी पुगेका थिए । यद्यपी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेन ।

उक्त व्यक्तिले प्रहरीलाई आफ्नै भाषामा भन्छन्- ‘सर, मैले ५० हजार रुपिहा (४२७ रुपैयाँ)मा किनेको हुँ। तर यो सेलेरी निस्कियो ।’ उनको कुरा सुनेर प्रहरीहरु हाँस्न थाल्छन् र कति पटक यसको सेवन गरेका छौ भनेर सोध्छन् । ती व्यक्तिको जवाफ सुनेपछि प्रहरीले पहिले उनलाई पक्राउ गर्ने सोच बनाए तर पछि छोडिदिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले घटनास्थलबाट उनको हातमा सेलेरी फेला पारेको थियो जुन गैरकानूनी कुरा थिएन । त्यसकारण पनि यसमा कुनै कारबाही हुन सकेको छैन । एक रिपोर्टका अनुसार इन्डोनेसियामा धेरै मानिसले गाँजा जस्ता चीजको सेवन गर्छन् । देशमा कडा कानुन बने पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *