टर्कीको सेनाले इराकमा आक्रमण गर्‍यो, टर्कीको इस्तानबुलमा पनि भीषण विष्फोट

डिसी नेपाल
५ वैशाख २०७९ १५:११
9.9k
Shares

काठमाडौं । रुस र युक्रेनबीच भएको युद्धबीच टर्कीले इराकमा सैन्य कारबाही सुरु गरेको छ । टर्कीले उत्तरी इराकको कुर्दिस्तानमा सैन्य आक्रमण सुरु गरेको छ । टर्कीका रक्षामन्त्री हुलुसी अकरले यसको पुष्टि गरेका छन् ।

टर्कीका रक्षामन्त्रीले टर्कीका लडाकु विमान, हेलिकप्टर र ड्रोनले कुर्द लडाकुहरूलाई निशाना बनाएर उनीहरूको शिविर, सुरुङ, आश्रयस्थल र हतियार भण्डारमा आक्रमण गरेको बताए।

रक्षामन्त्रीले भने, ‘टर्कीतर्फबाट कुर्दिस्तान वर्कर्स पार्टीको लक्ष्यलाई निशाना बनाइएको थियो। उनले यसअघि टर्कीका सेनाका कमाण्डोहरू पनि इराकको सीमामा प्रवेश गरेको बताए ।’

रक्षामन्त्री हुलुसी अकरले भने, ‘टर्कीका लडाकु विमानहरूले पीकेकेसँग सम्बन्धित आश्रयस्थलहरू, बंकरहरू, सुरुङहरू, हतियार भण्डारहरू र मुख्यालयहरूमा सफलतापूर्वक आक्रमण गरेका छन्। उत्तरी इराकमा कुर्द लडाकुहरूको पकड छ र उनीहरूले टर्कीमा आक्रमण गर्न यो क्षेत्र प्रयोग गर्छन् ।”

रक्षा मन्त्रीले टर्कीले विगत दशकहरूमा कुर्द लडाकुहरू विरुद्ध धेरै सीमापार हवाई र जमिनी अभियान सञ्चालन गरेको बताए । ‘यस पटक आक्रमणहरू उत्तरी इराकको माटिना, जाप र अवाशिन-बास्यान क्षेत्रमा गरिएको थियो’, उनले भने।

टर्कीले कुर्दिश लडाकुहरूको संगठन पीकेकेको आधारमा कारबाही गर्‍यो। पीकेकेलाई अमेरिका र युरोपेली संघले पनि आतंकवादी संगठन घोषणा गरिसकेको छ । कुर्दहरू सिरिया, इरान र आर्मेनियामा बस्छन्। तिनीहरूको जनसंख्या करिब २.५ देखि ३.५ करोड छ। यस्तो अवस्थामा कुर्दहरूले आफ्नो नयाँ देश निर्माणको माग निरन्तर उठाइरहेका छन् । यसका लागि उनीहरुले जनमत संग्रह पनि गरेका छन् ।

यसैबीच टर्कीको इस्तानबुलमा सोमबार ठूलो विस्फोटको आवाज सुनिएको छ । यसमा १० जना घाइते भएको बताइएको छ । विस्फोट इस्तानबुलको बेयोग्लु जिल्लामा भएको हो । यहाँ उद्धार कार्य जारी छ। यो विस्फोट एक आवासीय भवनको भूमिगत केबल लाइनमा भएको बताइएको छ । विष्फोटपछि उक्त आवासीय भवनबाट मानिसहरूलाई बाहिर निकालिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *