चार धाम यात्रामा गैर-हिन्दूहरूको प्रवेश निषेध गर्ने तयारी
काठमाडौं । उत्तराखण्डको चारधाम यात्रामा गैर-हिन्दूहरूको सहभागितामा प्रतिबन्ध लगाउन सकिनेछ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज पत्रकार सम्मेलनमा भने, ‘हाम्रो राज्य शान्त रहनुपर्छ । हाम्रो राज्यको धर्म संस्कृति जोगाउनु पर्छ। यसका लागि सरकारले आफ्नो तहबाट अभियान चलाउने छ । जसको प्रमाणीकरण राम्ररी हुन सकेको छैन, हामी प्रमाणित गर्ने प्रयास गर्नेछौं। त्यस्ता व्यक्तिहरू उत्तराखण्ड आउनु हुँदैन जसका कारण यहाँको अवस्था बिग्रन्छ।’
मुख्यमन्त्री धामीले यो विषय सरकारको ध्यानाकर्षणमा रहेको र नियम अनुसार आवश्यक कारबाही गरिने बताए । डिसेम्बर-२०२१ मा हरिद्वार धर्म संसदमा समुदायको विरुद्धमा बोल्ने स्वामी आनन्द स्वरूपले राज्यको चार धाम गंगोत्री, यमुनोत्री, केदारनाथ र बद्रीनाथमा गैर-हिन्दूहरूको प्रवेशमा प्रतिबन्ध लगाउन माग गरे। यो मागलाई हरिद्वारको सन्त समाजले समर्थन गरेको छ । वैशाख ३ गते अक्षय तृतीयाका दिन गंगोत्री र यमुनोत्रीका द्वार खोलेर चारधाम यात्रा सुरु हुनेछ ।
धामीले यसअघि पनि उत्तराखण्डमा जनसांख्यिकीय परिवर्तनको मुद्दा उठाएका थिए। मार्चमा मुख्यमन्त्रीको सपथ लिएपछि पनि आफ्नो प्राथमिकताको गणना गर्दै उनले भने, ‘राज्यमा समान नागरिक संहिताको मस्यौदा तयार गरिनेछ। यसका लागि छिट्टै समिति गठन गरिनेछ ।’ चारधाम यात्रामा गैर-हिन्दूको प्रवेशको मुद्दालाई पनि राज्यको जनसंख्याको प्रकृति परिवर्तनको उनको भनाइसँग जोडेर हेरिएको छ।
राज्यको बद्री-केदार मन्दिर समितिका अध्यक्ष अजेन्द्र अजय भन्छन्, ‘सन्तहरूले पहिलेदेखि नै गैर-हिन्दूहरूलाई प्रवेशमा रोक लगाउन माग गर्दै आएका थिए।’ उनी भन्छन्, ‘मैले राज्यको जनसांख्यिकीय परिवर्तनको मुद्दा उठाएको छु । हाम्रो राज्य पौराणिक मान्यताको हो र देवभूमि भनेर चिनिन्छ। दुई अन्तर्राष्ट्रिय सिमाना जोडिएको क्षेत्र भएकाले यहाँ छुट्टै व्यवस्था हुनुपर्छ । मुख्यमन्त्रीको भनाइ स्वागतयोग्य छ ।’
चारधाम घुम्न आउने यात्रुको दर्ता बीकेटिसीले नगर्ने अजेन्द्र बताउँछन्। तर, उत्तराखण्ड पर्यटन विकास परिषदले चारधाम यात्राका लागि आउने यात्रुहरूको अनलाइन र अफलाइन दर्ता र प्रमाणीकरणको व्यवस्था गरिरहेको छ।
अनलाइन दर्ताका लागि वेब पोर्टलको व्यवस्था गरिएको छ। यससँगै यात्रा मार्गका विभिन्न चरणमा हरिद्वार, ऋषिकेश, बारकोट, जानकीछट्टी, हिना, उत्तरकाशी, सोनप्रयाग, जोशीमठ, गौरीकुण्ड, गोविन्दघाट र पाखीमा भौतिक दर्ता केन्द्र स्थापना गरिएको छ । चारधाम र श्री हेमकुण्ट साहिबको दर्शन गर्न आउने मानिसहरूका लागि प्रमाणीकरण केन्द्रहरू पनि स्थापना गरिएको छ।







डिसी नेपाल







Facebook Comment