श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । साथै थप ११ जना घाइते भएका छन् ।
यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ । उनीहरु सबैलाई केगले अस्पतालमा भर्ना गरिएको छ ।
केगले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन् । घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको उनले बताए ।
गोलीबारीको यो घटना श्रीलंकाको पश्चिमी मध्य भागको रामबुकाना शहरमा मंगलबार भएको हो।
प्रहरी प्रवक्ता निहाल तल्दुवाले घटनाबारे बीबीसी सिंहलालाई बताएअनुसार १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको थियो।
अर्को सूचना नभएसम्मका लागि रामबुकानामा कर्फ्यु लगाइएको पनि प्रहरीले जनाएको छ ।
मुलुकको असाधारण आर्थिक मन्दीको विरोधमा मंगलबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको बताइएको छ ।
रामबुकाना, हिङ्गुरकगोडा, बड्डेगामा, दिगाना, गम्पोला, रत्नपुरा र तेलदेनियामा यी विरोध प्रदर्शनहरू भएका थिए।
बीबीसी सिंहलाका अनुसार प्रदर्शनका क्रममा रामबुकाना हुँदै जाने रेलमार्ग अवरुद्ध भएपछि सो रुटमा रेल सेवा पनि ढिलो भएको थियो ।
श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले मंगलबार ट्वीट गर्दै गोलीबारीको कडा निन्दा गरेकी छन् ।
उनले सामाजिक सञ्जाल साइटमा लेखेका छन्, ‘रामबुकानाबाट आएको डरलाग्दो खबरले म निकै दुखी छु । म हिंसाको निन्दा गर्छु, चाहे त्यो आन्दोलनकारी होस् वा प्रहरी । सबै पक्षलाई शान्ति कायम गर्न आग्रह गर्दछु । यस विषयमा गहिरो, पारदर्शी छानबिन हुनु जरुरी छ । शान्तिपूर्ण आन्दोलन गर्ने जनताको अधिकारको पुन:स्थापनाको माग गर्दछु ।’







डिसी नेपाल







Facebook Comment