जुम्लामा कालाेबजारी र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री

डिसी नेपाल
९ वैशाख २०७९ १४:२९

जुम्ला। जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन्। जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ। होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताविना नै सञ्चालनमा रहेका भेटिएका छन्। साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनकाे ध्यान जान सकेकाे छैन।

खुलेआम व्यापारीहरूले कालाेबजारी र म्याद गुज्रिएकाे सामान बेच्ने गरेकाे भन्दै प्रशासनकाे कडा आलाेचना भएपछि बल्ल बजार अनुगमन गरिएकाे छ। सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन्।

उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ। दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा उनले बताइन्।

बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, चिसाेपेय पदार्थसहित बस्तुकाे म्याद सकिएको भेटिएको थियो।

जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदील बताए।

हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन। पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *