स्थानीय निर्वाचनः दाङमा चुनावी गतिविधि बढ्यो, गठबन्धनमा आबद्ध दलहरु उम्मेदवारी टुङ्ग्याउने कसरतमा

डिसी नेपाल
९ वैशाख २०७९ १७:१७

 

दाङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दाङमा चुनावी गतिविधि बढ्दै गएका छन् । दलका नेता तथा कार्यकर्ता चुनावी योजनाका खाका निर्माणमा व्यस्त छन् ।
गठबन्धनमा आबद्ध दलहरु उम्मेदवारी टुङ्ग्याउने कसरतमा छन् । वैशाख ११ र १२ गते मननोनयन दर्ता हुँदैछ भने आकाङ्क्षी पनि पार्टीभित्र आफू दर्विलो उम्मेदवार भएको देखाउन खोज्दैछन् ।

नेकपा एमाले, राप्रपालगायत दलले केही स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाए पनि सत्तारुढ गठबन्धनले अझै उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । जिल्लामा गठबन्धनमा आबद्ध दलहरुको पटकपटक बैठक बस्दै आए पनि टुङ्गो लाग्न सकेको छैन । घोराहीको नगर प्रमुखमा गठबन्धनबाट हेमराज शर्मा (डायमण्ड) को नाम निश्चित भएको जनाइएको छ भने एमालेबाट नरुलाल चौधरीको नाम चर्चामा छ तर नाम भने कसैको टुङ्गो लागेको छैन । तुलसीपुरमा एमालेबाट टीकाराम खड्काको नाम चर्चामा छ, उनी एमालेको निर्वमान अध्यक्ष हुन्। दलहरुलाई उम्मेदवारी चयनमा सकस परेको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा पाँच दलीय गठबन्धनले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन भने नेकपा एमालेले वडास्तरका नाम टुङ्गो लगाइसकेको जनाएको छ ।

जिल्ला इञ्चार्जद्वारा पार्टी परित्याग

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार रहेका उनले पार्टीप्रति आफ्नो असन्तुष्टि रहेकाले साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएको बताए । नेता गौतमले उक्त पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको भन्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।
यसअघि सोही पार्टीका घोराही नगर अध्यक्ष रहेका प्रमोद शर्माले पनि पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सदरमुकाममा उक्त कार्यालय स्थापना गरिएको र सबै पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू तत्पर रहेको र यसमा जिल्लावासीले पनि साथ दिनुपर्ने धारणा व्यक्त गरे । राजनीतिक दलहरुलाई आचारसंहिता उल्लङ्घनरहित जिल्ला घोषणा गर्नका लागि सहयोग गर्न पनि उनले आग्रह गरे । तुलसीपुर उपमहानगरपालिकामा हेर्ने गरी उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता राजेश्वर अर्यालले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी लमही नगरपालिकामा उच्च अदालत तुलसीपुरका उपरजिष्ट्रार मानबहादुर विष्टले जिम्मेवारी सम्हालेका छन् । गढवा गाउँपालिकामा मोहन सुवेदी, दङ्गीशरण गाउँपालिकामा देवराज भारती, बङ्गलाचुली गाउँपालिकामा हीरन्यप्रसाद भण्डारी, बबई गाउँपालिकामा दिनेश अधिकारी, राजपुर गाउँपालिकामा वसन्तराज पुरी, राप्ती गाउँपालिकामा हेमराज अर्याल, शान्तिनगर गाउँपालिकामा शालिकराम ढकालले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

दाङमा चार लाख नौ हजार ९०२ मतदाता

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदानस्थलको अवलोकन तथा वर्गीकरण गरिएको छ । यसपटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । उनका अनुसार तीमध्ये १३६ मतदानस्थल संवेदनशील, पाँच अतिसंवेदनशील र ११ वटा मतदानस्थललाई सामान्यरुपमा वर्गीकरण गरिएको छ ।

निर्वाचनलाई दृष्टिगत गरी प्रदेशस्तरीय तालिम तथा छलफल भइसकेको र अब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएपछि निर्वाचनमा परिचालन हुने कर्मचारी, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ । मतदानलाई निष्पक्ष भयरहित बनाउन सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

उपमहानगरपालिकाको महोल बढ्यो

पाँच दलीय गठबन्धनले दाङका दुई उपमहानगरपालिकाको टुङ्गो लगाएपछि चहलपहल सुरु भएको छ । घोराहीमा माओवादी केन्द्रले र तुलसीपुरमा कांग्रेसले नगरप्रमुखको उम्मेदवारी पाएको छ । आफ्नो भागमा नगरप्रमुख पारेसँगै घोराहीमा माओवादीले नाम सिफारिस गरेको हो । पार्टीका जिल्ला संयोजक सुवास पुनका अनुसार घोराहीको प्रमुखका लागि हेमराज शर्मा ‘डायमण्ड’को मात्रै नाम सिफारिस भएको छ । घोराहीमा कांग्रेसले उपप्रमुख पाएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाएपछि त्योअनुसार छलफल अघि बढाइएको छ । तुलसीपुरमा केही दिन अघि नगर प्रमुखका लागि आकाङ्क्षी १९ जनाको नाम सिफारिस गरिएकोे थियो । अहिले ती व्यक्तिका सम्बन्धमा कुनै छलफल नभएको कांग्रेसका प्रवक्ता पूर्णविक्रम डाँगीले बताए । कसको भागमा के पर्ने भन्ने टुङ्गो नलगाइएकाले त्यो छलफल अघि नबढेको उनको भनाइ थियो । कांग्रेसमा पूर्वसांसद तथा २०७४ सालका नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको बलियो सम्भावना रहेको बुझिएको छ । कांग्रेसका एक नेताका अनुसार दीपक गिरी सङ्घमा चुनाव लड्ने र गेहेन्द्रलाई नगर प्रमुख बनाउने गरी सहमति भएको बताइएको छ ।

उपमेयर भाग परेको एकीकृत समाजवादीले पनि उम्मेदवारी टुङ्ग्याउने कसरत अघि बढाएको छ । पार्टीका जिल्ला प्रवक्ता दीपक कुमालका अनुसार जोगबहादुर राना, डिल्ली डाँगी, जानुका रेग्मीलगायत आकाङ्क्षी रहेकामा जोगबहादुरको सम्भाबना बढेको एकीकृत समाजवादीका एक नेताले बताए । यी दुवै उपमहानगरपालिकामा यसअघि एमाले विजयी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *