धनगढीका मतदाता भन्छन्- पार्टी हैन व्यक्ति हेरिन्छ

डिसी नेपाल
१४ वैशाख २०७९ ११:२१

धनगढी। १६ दिनपछि देशभर स्थानीय तहको निर्वाचन हुँदै छ। आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सहदस्यहरु आ-आफ्नै तरिकाले चुनावी गतिविधि गरिरहेका छन्। धेरै उम्मेदवार घरदैलो अभियानमा सक्रिय छन्। आफ्ना एजेण्डा मतदातामा पुर्‍याउन उम्मेदवारको भ्याइनभ्याइ हुँदा धनगढीका मतदाता भने यसपटक सचेत बनेका छन्।

‘गाउँमा राजनीतिक दलका एजेण्डा बोकेर उम्मेदवार आइरहेका छन्,’ धनगढी–५ तारानगरका स्थानीय विश्व अधिकारीले भने, ‘सबैले राम्रै एजेण्डा ल्याइरहेका पनि छन्। अब एजेण्डा हैन व्यक्ति हेरिनेछ, काम गर्न सक्ने नयाँ सोच भएका व्यक्तिलाई भोट दिनेछौं।’

पटक-पटक दललाई भोट दिँदा धनगढीको विकास नभएको भन्दै उनले अब आस्थाका आधारमा नभई जुन पार्टीले योग्य उम्मेदवार उठाएकाे छ, उसैलाई भोट दिने बताए। ‘मेयरदेखि वडा अध्यक्षका उम्मेदवार गाउँगाउँमा आउने क्रम सुरु भएको छ,’ उनले भने, ‘पहिला उनीहरूलाई चिन्छौं, अनि राम्रालाई छानेर भोट दिन्छौं।’ धनगढी उपमहानगरपालिकामा अर्बौं बजेट आउने भए पनि त्यसको सही सदुपयोग नहुँदा विकासले गति नलिएको उनी बताउँछन्।

धनगढी–१० का स्थानीय जीवन रेग्मी पनि अब मतदाता सचेत बन्नु पर्ने बताउँछन्। ‘दललाई आस्था छ भन्दैमा आँखा चिम्लेर भोट हाल्न हुँदैन,’ उनले भने, ‘स्थानीय स्तरमा हामीलाई योग्य र जनताका आकांक्षा बुझ्ने नेता चाहिएको छ। सबैले क्षमतावान उम्मेदवारलाई भोट हाल्नु पर्दछ ।’ आफ्नो टोलमा सबैले हाम्रा तथा आस्थाका आधारमा नभई विकासप्रति कटिबद्ध र योग्य उम्मेदवारलाई भोट हाल्नेबारे छलफल गरेको उनी बताउँछन्।’ मेयरदेखि वडा अध्यक्ष सम्म सबै योग्य उम्मेदवार छनौट गरेर मात्र भोट दिनेमा टोलबासी सहमत छन्,’ उनले भने, ‘अब आश्वासन बाँड्ने नेतालाई जनताले पत्याउनेवाला छैन।’

धनगढी–१३ का मतदाता पनि यस पटक सचेत बनेका छन्। ‘चुनावका बेला ठूला–ठुला आश्वासन दिएर चुनाव जितेपछि गाउँमा फर्केर नआउने नेतालाई हामीले चिनिसकेका छौं,’ स्थानीय रामदाश रानाले भने, ‘अब आश्वासनमा मात्र विश्वास गरिने छैन, उम्मेदवारको आचरण र कामको मुल्याङ्कन गरिनेछ।’

धेरै नेता चुनाव जितेपछि पाँच वर्षसम्म गाउँमै नआएको भन्दै उनले त्यसता नेतालाई भने अब नपत्याइने बताए। ‘टोलमा विकास प्रेमी नेता छान्नु पर्छ भन्ने बहस नै चलेको छ,’ उनले भने, ‘हामी उम्मेदवारको पर्खाइमा बसेका छौं, पहिला चिन्छौं, अनि चुन्छौं।’

वडा नम्बर–१३ कै स्थानीय जगत विकले पनि धनगढीको विकास गर्न सक्ने, विपन्न नागरिकको अभिभावक बन्न सक्ने, सबै नागरिकलाई समान व्यवहार गर्न सक्ने नेतालाई भोट दिने योजना बनाएको बताए । स्थानीय जनप्रतिनीधि छनौट गर्दा पार्टीको आस्थाका आधारमा नभई राम्रो उम्मेदवारलाई भोट दिइने उनी बताउँछन्।

‘पटक-पटक आस्थाका आधारमा हामीले उम्मेदवारलाई आँखा चिम्लेर भोट हालिसकेका छौं,’ उनले भने, ‘तर ती उम्मेदवारबाट सोचेजस्तो काम भएको पाएनौं, अब जुनुसुकै पार्टीबाट भए पनि राम्रो नेतालाई भोट दिनुपर्छ, मैले त्यही योजना बनाएको छु।’

धनगढी–४ की अम्बिका जोशीले मदिरा र मासुमा भुल्ने मतदाता सचेत हुनुपर्ने सुझाव दिइन्। ‘अघि पछि राम्रो नेता छान्छौं भन्दै सबैले बहस गर्छन्,’ उनले भनिन्, ‘तर अन्तिममा विभिन्न प्रलोभनमा परेर मतदाता पनि प्रभावित हुने गरेका देखिन्छन्, व्यक्तिगत प्रलोभनमा नपरेर समग्र नगरको भविश्य हेर्नुपर्ने देखिन्छ।’

धनगढी उपउहानगरपालिकाको मेयरमा यस पटक गठबनधनबाट उम्मेदवारी दिएका निपबहादुर वड, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द र स्वतन्त्रतर्फ उम्मेदवारी दिएका गोपाल हमाल बीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ।

स्वतन्त्र उम्मेदवार गोपाल हमाल यसअघि नृपबहादुर वड सँग २७ सय मतान्तरले पराजित हुँदा नेकपा उमालेका उम्मेदवार दुर्गा जोशी चौथौ स्थानमा थिए । तर यसपटक भने एमालेले पनि उम्मेदवारी छनौटमा सन्तुलन मिलाएको छ। एमालेबाट उप मेयरमा उम्मेदवारी दिएकी चन्द कला रानाले राना थारूका भोट तान्न सक्ने आंकलनका कारण एमाले पनि बलियो अवस्थामा देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *