उम्मेदवारी फिर्ता लिन देउवा र प्रचण्डको दबाव

सम्भव सिंह ठकुरी
१५ वैशाख २०७९ १२:३२

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ। सत्तागठबन्धनले भरतपुरको नगर प्रमुख (मेयर) नेकपा (माओवादी केन्द्र) लाई दिने निर्णय भएपछि नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले असन्तुष्ट जनाउँदै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

तर उनको उम्मेदवारी फिर्ता गराउन पार्टीका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दवाब दिइरहेका छन्। प्रचण्डले फोनमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् भने प्रधानमन्त्री देउवाले पनि फोन मार्फत नै उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दै भेट्नका लागि काठमाडौं बोलाएका छन्।

तर पौडेल भने कुनै पनि हालतमा आफ्नो यो निर्णयबाट पछि नहट्ने अडान लिएका छन्। प्रधानमन्त्री देउवाले फोन गरेर काठमाडौं बोलाउँदा काठमाडौं आउन नसक्ने र यो निर्णयबाट पछि नहट्ने जानकारी सभापति देउवालाई जानकारी गराएको उनी बताउँछन्।

‘मलाई हाम्रो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले उम्मेदवारी फिर्ता गरेर गठबन्धनबाट उम्मेदवारी हुनुभएकी रेणु दाहाललाई सहयोग गर्नुका लागि अनुरोध गर्नुभएको थियो। तर अब चाहेर पनि आफ्नो उम्मेदवारी फिर्ता हुननसक्ने प्रधानमन्त्रीज्यूलाई विनम्र अनुरोध गरेको छु,’ पौडेलले भने, ‘उहाँले काठमाडौं भेट्न पनि बोलाउनु भएको थियो। तर आउन नसक्ने जानकारी पनि गराएको छु। मैले पार्टीको अहित हुने काम नै गरेको छैन। जे गरिरहेको छु पार्टीको इमान्दार सिपाहीको रुपमा गरेको छु।’

प्रचण्डसँगको फोन वार्तामा भने अघिल्लो पटक कांग्रेसले रेणु दाहाललाई सहयोग गरेका कारण यो पटक कांग्रेसलाई नै सहयोग गर्नुपर्ने कुरा बताएको पौडेलले बताएका छन्।

पौडेल भन्छन् ‘मैले पार्टीको अहित हुने काम गरेको छैन। र मेरो उम्मेदवार पनि कांग्रेसको विरुद्ध हैन। हामीले पहिलेदेखि भन्दै आएका हौँ।भरतपुरमा कांग्रेसको बलियो संगठन भएको ठाउँ हो। यहाँ हामी एक्लै चुनाव जित्न सक्छौँ। । गठबन्धन गर्नुपरेपनि मेयर कांग्रेसलाई दिनुपर्छ भनेका हौँ तर जसरी यहाँको कार्यकर्ताको भावनामा चोट पर्ने खालको निर्णय गरियो त्यो निर्णयले यहाँको कार्यकतालाई ठूलो चोट परेको छ। त्यसकारण मेरो उम्मेदवारी पार्टी कै हितको लागि हो।’

‘हामीले पार्टीको सदस्यता लिँदै पार्टीको ४ तारे झण्डालाई कहिल्यै कमजोर बनाउने छैन भनेर बाचा गरेर राजनीति गरेको हो। आज पार्टीलाई कमजोर बनाउने प्रयास भइरहँदा इमान्दार कार्यकर्ता टुलुटुलु हेरि बस्न सक्दैन। त्यसकारण मेरो उम्मेदवार कांग्रेस र यहाँको कार्यकर्ताको भावना अनुसार भएको हो। र मेरो उम्मदवारी अहिले ‘पब्लिक प्रोप्रटी’जस्तो भइसकेको छ। मेरो उम्मेदवारी दर्ता भएपछि यहाँका हजारौँ कार्यकर्तामा उत्साह पनि जागेको छ। त्यसैले बलियो संगठन भएको भरतपुरमा मेरो जित पनि सुनिश्चित रहेको छ,’पौडेलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *