रूसले ग्यास ठप्प पारिदिएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने ?

डिसी नेपाल
१५ वैशाख २०७९ १२:५२
14.8k
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । रुसले ग्यास आपूर्ति रोकेर युक्रेनविरुद्धको युद्धमा दबाब सिर्जना गर्न प्रयोग गरिरहेको जेलेन्स्कीले आरोप लगाएका छन् ।

युक्रेनका राष्ट्रपतिको भनाइ यस्तो बेला आएको हो जब रुसले बुधबार पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको थियो । दुवै देशले रुबलमा पैसा तिर्न अस्वीकार गरेका कारण रुसले यो कदम चालेको दाबी गरेको छ । रुसको यो कदमको चर्को आलोचना भइरहेको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेनले केही युरोपेली देशहरूलाई ग्यास आपूर्ति रोक्न रुसको निर्णय ब्ल्याकमेल गर्ने हतियार भएको बताएकी छिन्। उनले रुसको यो निर्णय अनुचित र अस्वीकार्य भएको बताइन् । यसबाट ग्यास आपूर्ति गर्ने राष्ट्रका रूपमा रुसको अविश्वसनीयता देखिएको उनले बताइन् ।

रुसको ऊर्जा कम्पनी गाजप्रोमले रुबलमा पैसा तिर्न अस्वीकार गरेको कारण पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको बताएको छ। अर्कोतर्फ, पोल्याण्डको ग्यास आपूर्ति गर्ने कम्पनी पीजीएनआईजीले ग्यासप्रोमले ग्यास आपूर्ति रोकेर सम्झौता उल्लंघन गरेको जनाएको छ । कानूनी माध्यमबाट क्षतिपूर्ति पाउन प्रयास गरिने कम्पनीले जनाएको छ ।

रुसको यो कदमप्रति बेलायतले पनि प्रतिक्रिया दिएको छ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक रोबले ग्यास आपूर्तिमा कटौती गर्ने निर्णयले रुसले आफूलाई थप एक्लो बनाएको बताएका छन् । स्काई न्यूजसँगको कुराकानीमा उनले रुसमा यसको उल्टो असर पर्ने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *