गठबन्धनको ५ वर्षे योजनाः युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने

डिसी नेपाल
१५ वैशाख २०७९ १८:०९
20
Shares

पोखरा ।गठबन्धन दलबाट पोखराको घोषणापत्र सार्वजनिक गरिएको छ । पोखराको हालको स्थितिपत्र सहित पाँच वर्षमा हुने पोखरा विकासबारे सपना बाँडिएको छ ।

गठबन्धनअन्तर्गत पोखराको मेयर एकीकृत समाजवादीले पाएको छ भने उपमेयर कांग्रेसको भागमा छ । सोमबार पाँचै दलबाट पोखराको पाँच वर्षे घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा तत्कालको सेवाप्रवाहदेखि मेट्रो रेलसम्मका योजना समेटिएका छन् । मेयरका उम्मेदवार धनराज आचार्यले फेवातालदेखि बेगनासताल जोड्न मेट्रोरेल चलाउने घोषणा गरे ।

तुरुन्तै अध्ययन गरेर पोखरा रिङरोड निर्माण सुरु गने, बजार क्षेत्रको ट्राफिक चाप घटाउन बाइपास रोड बनाउने, फेवातालमा यसअघि मिसाइएको ढललाई बाइपास गरेर विसर्जन गर्ने योजना छन् ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहिलो सर्त रहेको ल्याण्डफिल साइट तत्कालै व्यवस्थापन गर्दै फोहोरलाई मोहोरमा परिणत गर्ने उनको घोषणा छ ।

पोखराको पृथ्वीचोकमा सिटी बसपार्क निर्माण गर्ने र लामे आहालमा प्रदेश स्तरीय बसपार्क बनाउने उनको योजना छ । नयाँ एयरपोर्टबाट लेकसाइड र कोत्रेसम्म फास्ट ट्याक निर्माण गर्ने योजना छ । यस्तै, उनले उहिलेको पोखरा ब्युँताउने र अहिलेका ग्रामीण क्षेत्रहरूमा बहुसांस्कृतिक ग्राम निर्माण गर्ने बताए । ‘हाम्रा अहिलेका नानीबाबुलाई पुराना भाषा र शब्दबारे पनि ज्ञान छैन । पुरानो रहनसहन बुझेका छैनन्,’ उनले भने, ‘हामी निर्वाचित भयौं भने गाउँले रहनसहन देखिने गरी ग्रामीण वडामा विशेष गाउँ बनाउँछौँ । त्यहाँ पुरानो पोखरा हेर्न पाइनेछ ।’

उनले फेवातालको माटो निकालेर सेती डिलमा राख्ने र त्यहाँ कृषि उत्पादन गर्ने योजना सुनाएका छन् । ५ वर्षको कार्यकालभित्र गरिबिको रेखामुनिको जनसंख्या शून्य बनाउने तथा सुन्दर र सफा पोखरा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । घोषणा गरिएका कार्यक्रमहरू पूरा गर्न संघ, प्रदेश र दातृ निकायबाट सहयोग माग्ने तथा पोखराकै बासिन्दाबाट शेयर संकलनको प्रस्ताव गरेका छन् ।

‘पूरा नहुने कुनै योजना छैनन् । धेरैतिरबाट छलफल गरेर यो बनाएका छौं,’ उनले भने, ‘अहिले पोखराको बजेट ७ अर्ब छ । संघ र प्रदेशबाट थप बजेको माग गर्छौं । ५ लाख महानगरवासी हुनुहुन्छ । उहाँहरूको मन जितेर पोखरालाई नमुना बनाउन पहल गर्छौं ।’

घोषणा अनुसार पहिलो दिनदेखि १ वर्षसम्मका काम छन् । पहिलो दिन नै सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क दिने कामको थालनी गर्ने तयारी छ । हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने, ३ महिनाभित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, तेस्रो महिनादेखि सामाजिक सुरक्षा भत्ता घरदैलोबाटै वितरण गर्ने, महानगरको केन्द्रबाट गाउँसम्म पुग्न साँझ बस सेवा सञ्चालन गर्ने योजना समेटिएका छन् ।

नयाँ करको दायरा खोज्ने, एउटै कोठाबाट सेवा दिने वातावरण तय गर्ने, अनुसन्धानमा आधारित विकास परियोजना सञ्चालन गर्ने, ६ महिनाभित्र स्कुल टु वर्क कार्यक्रम सञ्चालन गर्ने, आमा समूहलाई एक समूह एक उत्पादन कार्यक्रममा जोड्ने कार्यक्रम पनि ल्याइएको छ ।

परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म ऋण लगानी गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, कृषिको उत्पादन महानगरले खरिद गर्ने, पुराना सम्पदाको संरक्षणका लागि विशेष प्याकेज ल्याउने, महानगरभित्र काम गर्ने विदेशी नागरिकलाई वर्क परमिटको व्यवस्था गरी करको दायरामा ल्याउने र फोहोर बैंकमार्फत फोहोर खरिद गर्ने कार्यक्रम गठबन्धनको घोषणापत्रमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *