दार्चुलामा कांग्रेसका बागी उम्मेदवारद्धारा मनोनयन फिर्ता

डिसी नेपाल
१६ वैशाख २०७९ १९:४३

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा बागी उम्मेदवारी दिएका कांग्रेसका कार्यकर्ताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उम्मेदवारी फिर्ता लिने कार्यतालिका अनुसार महाकाली नगरपालिकामा नौ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए ।

कांग्रेसले महाकाली नगरपालिकाको नेतृत्वमा पुरानै उम्मेदवारलाई अघि सारेपछि असन्तुष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस दार्चुलाको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेकी आनन्दी पन्त भट्टले महाकाली नगरपालिकाको उपप्रमुख पदमा बागी उम्मेदवारी दिएकी थिइन् ।

पार्टी नेतृत्वको दबाब र आफ्नो राजनीतिक करियरका कारण उनले उम्मेदवारी फिर्ता लिएकी छन् । अन्य बागी उम्मेदवारले पनि पार्टी नेतृत्वको दबाबका कारण उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार महाकाली नगरपालिका-३ बाट वडाध्यक्षका उम्मेदवार प्रेमसिंह महरा, वडा सदस्यका उम्मेदवार माधवप्रसाद भट्ट र देवसिंह महरा तथा वडा नम्बर ५ बाट उम्मेदवारी दिएका लोकमणि ठगुन्नाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

महाकाली नगरपालिका(६ मा गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा जितेका चक्रसिंह बोहराले समेत यस पटक वडाध्यक्ष पदका लागि बागी उम्मेदवारी दिएका थिए । उनले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा माओवादीका बागी उम्मेदवार नवराज जोशी र वडा नम्बर ८ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार चक्रसिंह विष्टले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी मालिकार्जुन गाउँपालिकामा नेकपा समाजवादीबाट एक जना वडाध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मालिकार्जुन गाउँपालिका निर्वाचन अधिकृत ओमप्रसाद भट्टराईले जानकारी दिए । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार कलावतीदेवी धामीले उम्मेदवारी फिर्ता लिएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *