एमाले साँफेबगरको प्रतिबद्धता पत्र सार्वजनिकः बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने

डिसी नेपाल
१६ वैशाख २०७९ २२:२४

अछाम ।  नेकपा एमाले साँफेबगर नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

नगर कमिटीले सार्वजनिक गरेको १२ पेजको प्रतिविद्धतामा साँफेबगर नगरपालिकालाई सुखी र समृद्ध नगरवासीको सरोकार लक्ष्यसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा नगरपालिकाको आवधिक योजना तथा विस्तृत विवरणको तर्जुमा र अद्यावधिक, स्नातक तहसम्मको प्राविधिक शिक्षालय स्थापना, पढ्दै कमाउँदै कार्यक्रमको अवलम्बन गर्दै व्यावहारिक तथा व्यावसायिक शिक्षामा प्राथमिकता, नगरको गौरवको योजनाको रूपमा नगर नमुना विद्यालय बनाउने समेटीएको छ ।

बयालपाटा अस्पताललाई नर्सिङ कलेज हुँदै मेडिकल कलेज स्तरोन्नति का लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्ने, एक घर एक धारा नीतिको प्रभावकारी कार्यान्वयन, फोहोर व्यवस्थापनको लागि दीर्घकालीन गुरु योजना निर्माण, प्रत्येक टोलमा सिचाई पोखरी तथा आवश्यकता अनुसार साना, मझौला र ठुला कुला एवं नहरको निर्माण, संघ र प्रदेश सरकारसँग समन्वय गरी ६० किलोमिटर कालो पत्रे र ७० किलोमिटर ग्राभेल सडक निर्माण तथा र ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति, नगर बस सञ्चालन गर्ने प्रतिबद्धता पत्र उल्लेख गरिएको छ ।

सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको सञ्चालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको सञ्चालन, नयाँ सहर आयोजनासँगको समन्वय र सहकार्यमा बस्ती विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन, वैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृतिक–धार्मिक स्थलहरुको संरक्षण र प्रवर्द्धनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशीलताको नीति अवलम्बन, भूमिहीन र सुकम्वासीका लागि जग्गा उपलब्ध गराउन भूमिसम्बन्धी आयोगसँग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पुँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको आर्थिक तथा सामाजिक विकासका लागि निजी क्षेत्रको लगानी बढाउन उचित वातावरणको सिर्जना गर्ने, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न खुला मञ्च र सभास्थल निर्माण र सभा गृहको निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *