तनहुँमा जोशीलाई कैची, भट्टराईलाई पुतली चुनाव चिह्न

डिसी नेपाल
१७ वैशाख २०७९ २१:२१

तनहुँ । जिल्लाका स्वतन्त्र उम्मेद्वारहरुलाई कैची, पुतली, खरायो लगायतको चुनाव चिह्न प्रदान गरिएको छ । शनिबार स्वतन्त्र र निर्वाचनका लागि दल दर्ता नभएका दलका उम्मेद्वारले रोजेको चुनाव चिह्व प्रदान गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचनको अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेद्वारले चुनावी चिह्न रोजेका थिए ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका कांग्रेसका महेश्वर भट्टराईले पुतली चुनाव चिह्न पाएका छन् । यस्तै, उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका जगदिश काफ्लेले हास चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता नभएकाले उन्नत लोकतान्त्रिक पार्टीका काफ्लेलाई पनि स्वतन्त्र सरह चुनाव चिह्न प्रदान गरिएको हो । वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएको उम्मेद्वारलाई गुलाफको फुल, पुतली, मुढा, खनोपानीको धारा लगायतको चुनाव दिइएको छ ।

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीले कैची चुनाव चिन्ह पाएका छन् । उनी नेपाली कांग्रेसबाट साधरण सदस्य समेत नरहने गरेर कारवाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । जोशी समुहले तनहुँको व्यास नगरपालिकासँगै भानु नगरपालिका र बन्दीपुर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको छ । तर जोशी समुहका उम्मेद्वार स्वतन्त्र चिह्नबाट उठ्ने गरेर गठबन्धनको सहमती भएको हो । चुनाव चिह्न नपाउदै जोशी व्यासमा एमालेबाट उपमेयरममा उम्मेद्वारी दिएकी बसुन्धरा घर्तीलाई सुर्य चिह्नमा भोट माग्दै हिँडेका थिए । व्यासको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी पार्वती कार्कीले चुनाव चिह्न खरायो पाएकी छन् ।

११ र १२ वैशाखमा उम्मेद्वारी मनोनयन दर्ता भएको थियो । १३ वैशाखमा उम्मेद्वारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय गरियो । १५ वैशाखमै उम्मेद्वारको नामावली प्रकाशन भएपछि १६ वैशाखमा उम्मेद्वारको नाम फिर्ता तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको हो । शनिबार निर्वाचन चिह्न पाएपछि उम्मेद्वारहरुले अब भोट माग्न घरदैलोमा पुग्नेछन् । स्वतन्त्र उम्मेद्वार निर्वाचन चिह्न लिएर घरदैलोमा हिँड्न थालेपछि ठुला दलका उम्मेद्वारले भने घरदैलो सुरु गरिसकेका छन् । अब ३० वैशाखमा विहान ७ देखी अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

शुक्रबार ११५ जनाले उम्मेद्वारी फिर्ता लिएसँगै जिल्लाको १० स्थानीय तहको ८५ वडामा अब एक हजार ६३६ जनाले प्रतिष्पर्धा गर्दैछन् । एक हजार ७५१ जनाको मनोनयन दर्ता भएको थियो ।

वैशाख ३० को निर्वाचनमा मात्र ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका २ लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *