बुटवल र तिलोत्तमामा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा, जित्ने आ-आफ्नै दाबी

डिसी नेपाल
१८ वैशाख २०७९ ११:५४

बुटवल। बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

बुटवलमा जसपाबाहेकको गठबन्धनसँग एमालेको राष्ट्रिय जनमुक्तिसँग तालमेल छ भने तिलोत्तमा नगरपालिकामा एकीकृत समाजवादीबाहेकको सत्ता गठबनधनसँग एमाले एक्लै प्रतिस्पर्धामा छ। गएको स्थानीय तहको निर्वाचनमा दुवै स्थानीय तहमा एमाले विजयी भएको थियो।

बुटवल उपमहानगरपालिकामा मेयर, उपमेयरसहित १९ वडामध्ये १५ वटा वडामा एमाले विजयी भएको थियो भने तिलोत्तमा नगरपालिकामा मेयर, उपमेयरसहित १७ वडामध्ये १३ वटा वडामा एमालेले जित हासिल गरेको थियो। बुटवलमा करिब २३ सय मतको अन्तर थियो भने तिलोत्तमा करिब दुई हजार सातसय मतको अन्तरले एमालेले मेयरमा जित हासिल गरेको थियो।

अहिले दुवै स्थानीय तहमा गठबन्धन र एमाले दुवैले आफूले जित्ने दाबी गरेका छन् । बुटवल उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दाबी गरे।

‘बुटवल एमालेको गढ हो, यहाँ एमालेलाई कसैले चुनौती दिन सक्दैन,’ उनले भने। बुटवलको विकासका लागि आफूले अगाडि सारेका एजेन्डालाई यहाँका मतदाताले मन मराएकाले आफ्नो जित सहज भएको उनको दावी छ।

उता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका कांग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेले गत निर्वाचनमा एमाले २३ सय मतान्तरले मात्र विजयी भएकाले बुटवललाई एमालेको गढ भन्न नमिल्ने बताए। ‘गत निर्वाचनको परिणाम हेर्ने हो भने १२ सय मत यताउता हुनासाथ गठबन्धनको जित हुन्छ, त्यसैले यहाँ एमालेको गढ भन्न मिल्दैन,’ उनले भने।

उता, तिलोत्तमा नगरपालिकामा पनि एमाले र गठबनधनबीच कडा प्रतिस्पर्धा देखिएको छ। एमालेबाट मेयरका उम्मेदवार बनेका प्रदेश कमिटी सदस्य मोहन चापागाईले आफूले फराकिलो मतान्तरसहित चुनाव जित्ने दाबी गरिरहेका छन्।

‘म यहाँ जन्मे हुर्केको स्थानीय हुँ, सबै नागरिकसँग दिनहुँ घुलमिल भएको छु, यहाँको विकास कसरी गर्नुपर्छ भन्नेबारे मलाई राम्रोसँग थाहा छ,’ उनले भने।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण भने लामो समयदेखि बुटवलमा बस्दै आएका छन्। गएको निर्वाचनमा बुटवलका बासिन्दा खाँणले तिलोत्तमामा चुनाव लडेको भन्दै आलोचना भएपछि केही समयअघि मात्रै उनले तिलोत्तमाको मणिग्राममा घर बनाएका हुन्।

‘मतदातासँग धेरै घुलमिल हुन नपाएपनि यहाँको समस्यासँग म जानकार नै छु, बिगतमा पराजय व्यहोरे पनि यसपाली मतदाताले अवसर दिनुहुन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु,’ खाँणले भने। उनी गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन्।

गृहमन्त्रीले दुवै स्थानीय तहको निर्वाचनमा आफ्ना भाइलाई टिकट दिएको भन्दै कतिपय कांग्रेस कार्यकर्ता असन्तुष्ट छन्। उम्मेदवार खाँण भन्छन्, ‘गएको निर्वाचनमा असन्तुष्टी थियो, तर अहिले कांग्रेस एकढिक्का छ ।’ उनले एमालेलाई अहिले सजिलै हराउने दाबी गरे । दुवै उम्मेदवारले अहिले तिलोत्तमाका १७ वटै वडामा घरदैलो गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *