एमाले त्यागेर राप्रपाबाट उम्मेदवारी दिएका ओली भन्छन् – भ्रष्टाचारविरुद्ध मेरो मनोनय

डिसी नेपाल
१८ वैशाख २०७९ १७:४३

झापा । झापाको कन्काई नगरपालिकामा एक हप्ता अघिसम्म एमालेका नेता रहेका श्यामसुन्दर ओली स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिने दिन राप्रपामा प्रवेश गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग निकट रहेका श्यामसुन्दरलाई उनको पार्टी एमालेले टिकट दिएन । एमाले अध्यक्ष केपी ओलीको नातेदारसमेत रहेका श्यामसुन्दरलाई एमालेले टिकट नदिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न हल्दिबारीस्थित लिङ्देनको घर गोलधापमा पुगे ।

श्यामसुन्दरलाई लिङ्देनले राप्रपामा प्रवेश गराई चुनाव लड्न टिकट दिए । लोकतन्त्र, सुशासन, राष्ट्रियता र विकासको मूल नारा लिएर वैकल्पिक शक्तिको रूपमा उदाएको दाबी गर्ने राप्रपाबाट कनकाई नगर प्रमुख पदमा श्यामसुन्दर उम्मेदवार बनेका छन् । देवीप्रसाद ओली (दाताराम)बाट समाजसेवा र राजनीतिप्रतिको लगाव उनमा देखिन्छ ।

२०५३ सालमा एमाले नेता युक्त भेटवालको चुनावी अभियानमा सरिक भएर कम्युनिष्ट राजनीतिको यात्रा सुुरु गरेका ओलीले केही दिन अघिसम्म एमालेमै रहेर आफ्नो राजनीतिक कर्मलाई निरन्तरता दिएका थिए । एमालेको आन्तरिक गुटबन्दीका कारण उनलाई नगर प्रमुखको टिकटबाट वञ्चित गरिएको उनी बताउँछन् ।

उनी जनचाहना बमोजिम राजनीतिमा आएको र जनसेवा नै आफ्नो अभिष्ट भएको दाबी गर्छन् । नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गरेका ओलीले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका तीनवटा वडामा विद्युत् विस्तारमा मुख्य भूमिका खेलेर उज्यालो नगरीको अभियानअघि बढाइरहेका छन् ।

जनताको जीवनशैलीलाई माथिल्लो तहमा लैजाने र मुलुकमा शान्ति अमनचयन कायम गर्ने लक्ष्य रहेको श्यामसुन्दर बताउँछन् । भ्रष्टाचारविरुद्ध उनले राप्रपाबाट कन्काई नगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो,’ भन्ने राप्रपाका केन्द्रीय अध्यक्षको लाइनमा छन् उनी ।

कन्काई नगरमा व्याप्त सेटिङ मिलाएर राज्यकोषको दोहन गर्ने र जनताले तिरेको करको दुरुपयोग गर्ने परिपाटीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘मेयरमा उम्मेदवारी दिएका बखत मेरो मन र मस्तिष्कमा युवाहरूकै चित्र थियो ।’ राप्रपाको राष्ट्रिय घोषणापत्रको आधारमा स्थानीय विषयवस्तु र जनसरोकारका सवाललाई समेटी स्थानीय घोषणापत्र बनाइएको छ र त्यसकै आधारमा आफू चल्ने र पार्टी पंक्तिलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *