राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै, पूरा भएन झण्डा हटाउने प्रतिवद्धता

डिसी नेपाल
२० वैशाख २०७९ २२:०८

खोटाङ । खोटाङका राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेका हुन् ।

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका छन् । साविकको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पशल तथा होटल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएका छन् । दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याइएका छन् ।

दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएका छन् ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि दिक्तेलबजारमा साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै ओहोर–दोहोर गराएको देखिन्छ । पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ । कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ । पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी राजेश गौतम बताउँछन् ।

निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सबै दलका प्रतिनिधिलाई बोलाएर बैठक राख्यो । बैठकमा उपस्थित दलका नेताले मंगलबार बिहान १० बजेसम्ममा यत्रतत्र राखिएका झण्डा हटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । तर प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेर फर्किएका दलले हालसम्म बजारका निर्वाचन सामग्री हटाएका छैनन् । “हिजो ६ दललाई बोलाएर निर्वाचन सामग्री हटाउन बचनबद्ध गराइएका थियौं । उहाँहरुलाई मंगलबार बिहान १० बजेसम्मको दिएका थियौंँ,” मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले भने, “दलकातर्फबाट हटाउछौं भन्ने कमिटमेन्ट पनि भएको थियो । अहिले के के गर्दैछन् । हटाउँदै होलान् ।”

दिक्तेलबजारमा यसअघि राखिएका दलका झण्डा हटाउन लगाइए पनि पुःन पार्टीको चुनाव चिन्ह अंकित झण्डा राखिएको पाइएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *