निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा दलले आफै हटाए

डिसी नेपाल
२२ वैशाख २०७९ १७:५१

खोटाङ । खोटाङका राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखेका झण्डा हटाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दिक्तेलबजारमा जताततै राखेका झण्डा स्वयं राजनीतिक दलले हटाएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका चिन्ह अंकित झण्डा राखेको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान १० बजेभित्र पार्टीको झण्डा हटाउन निर्देशन दिएको थियो । तर, केही दिन ढिलागरी दलका कार्यकर्ताले घर, पसल, बिजुलीका पोलमा राखेका आआफ्नो झण्डा निकालेका हुन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका थिए । साबिकको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पसल तथा होटेल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएको थियो ।

दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याएको देखिएको थियो । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएको थियो ।

दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरूमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । तर त्यी स्थानमा राखिएका पार्टीका झण्डा भने हटाइएका छैनन् ।

दिक्तेलमाभन्दा दिक्तेल बाहिर निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको छ । निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग समेत भइरहेको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *