शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षाभत्ता बापत १ करोड १३ लाख रुपैयाँ निकासा भएको थियो । सामाजिक सुरक्षा भत्ता नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकाले पाँच वडा कार्यालय सहित ६ स्थानमा शिविर आयोजना गरेर वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि गत १३ वैशाखमा साकेला गाउँपालिका–२ रतन्छा, १४ वैशाखमा साकेला गाउँपालिका–३ खिदिमा, १५ वैशाखमा साकेला गाउँपालिका–४ मात्तिम, १६ वैशाखमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ता तथा २० वैशाखमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँ र २२ वैशाखमा बाँझेच्यानडाँडा वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । बैंकसम्म पुग्नसक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिसकेको गाउँपालिकाले जनाएको छ ।
साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ । तर वृद्धावस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरी गाउँपालिका र बैंकले वडा–वडामा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका र बैंकबीचमा वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता छ ।
सामाजिक सुरक्षाभत्ता वितरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक असीम इङ्नाम लगायत सामाजिक सुरक्षा शाखाका कर्मचारी शिविरस्थलमा खटिएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment