रसुवामा निर्वाचनका लागि २५५ जना कर्मचारी खटाइने

डिसी नेपाल
२४ वैशाख २०७९ २२:४३

रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची तयार पारिएको छ।

छनोट गरिएका कर्मचारीहरूमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिने छ । त्यसपश्चात् कर्मचारीहरूलाई केन्द्रहरूमा खटाइने छ । शनिबार लाङटाङ र नौकुण्डमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ ।

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाईंकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *