मङ्गलबार रातिदेखि सीमानाका बन्द हुने

डिसी नेपाल
२६ वैशाख २०७९ १२:४५
116
Shares

राजविराज। सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए।

यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ। मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने उनले जानकारी दिए।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ । साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहितापालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *