रसुवामा मतदान केन्द्र निर्माण कार्यलाई तीव्रता

डिसी नेपाल
२८ वैशाख २०७९ २३:३६

रसुवा । रसुवामा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सक्किएको र केही निर्माणको चरणमा रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

मतदानस्थल र मतदान केन्द्रहरूमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थान लगायतको व्यवस्थापनको कार्य भइरहेको उनले बताए । बिहीबार बेलुकीसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेसमेत उनले बताए ।

त्यसैगरि मौसम विभागले मतदानको दिन पानी पर्ने बताएकाले निर्वाचन आयोगले सबै मतदानकेन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । आयोगको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाका स्थानीय तहहरूले व्यवस्थापन गरेका छन् । एउटा मतदान केन्द्रमा एउटा देखि दुई वटासम्म त्रिपालको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गराउनका लागि स्वयंसेवम सहित ४ सय १० जना कर्मचारी खटाइएको छ भने नेपाली सेना बाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको छ ।

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *