सिन्धुपाल्चोकमा एक स्थानमा मतदान रोकियो, दुई स्थानमा झडप

डिसी नेपाल
३० वैशाख २०७९ १३:५९

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ। बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँकाे मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो।

दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको भगडा झडपमा परिणत भएको हो।

घटना भएलगत्तै सेनाको टिम पुग्ने क्रममा रहेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद वाग्लेले बताए। मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका-२ यांग्री मतदान केन्द्रमा मतपत्रको विवाद कारण रोकिएको मतदान पुनः सुरु गरिएको छ। पाँचपोखरी थाङपालको यांग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि माहोल तनावग्रस्त बनाएको थियो।

सो मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मीले चर्को झडप हुन रोकेपछि त्यहाँ अवस्था सामान्य बनेको छ।

यस्तै मेलम्ची नगरको ज्यामिरेमा स्वास्थ्यचौकीको बुथमा स्थान साँघुरो हुँदा मतदाताबीच धकेलाधकेल भएको थियो। ज्यामिरेमा झडपको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेर्स्याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तर अवस्था सामान्य बनाउ मात्र हतियार तेर्साएको सुरक्षा स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *