मोदीको सुइटमा किन सुटुक्क छिरे परराष्ट्र मन्त्री खड्का ?

डिसी नेपाल
७ जेठ २०७९ १०:०९

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले गोप्यवार्ता गरेको खुलासा भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य कोही पनि सहयोगी नराखी (वान टु वान) वार्ता गर्नुभन्दा अघि निकै गोप्य राखेर परराष्ट्र मन्त्री खड्काले मोदीसँग वार्ता गरेका थिए। जेठ २ गते बुद्ध पूर्णिमाको दिन सो वार्ता मोदी बसेको होटलमा मोदीका लागि तयार गरिएको सुइटमा भएको थियो।

सूत्रका अनुसार मायादेवी मन्दिरमा दर्शन तथा पूजाआजापछि मोदी आफू बसेको होटल फर्किएका थिए। यसपछि दुई देशका बीच प्रधानमन्त्रीको नेतृत्वमा सामुहिक वार्ता र दुई प्रधानमन्त्रीका बीच वान टु वान वार्ताको समय तय भएकै थियो। तर, कार्यक्रममै नभएको खड्का र मोदी गोप्य वार्ता किन भयो ? भन्नेबारे साथै गएका अन्य मन्त्रीहरु पनि अन्यौलमा परेका छन्।

उच्चस्तरको भ्रमणमा सबै वार्ता र बैठकहरु पूर्वनिर्धारित हुन्छन्। कुनै अस्वाभाविक अवस्था आएको वाहेक यसमा परिवर्तन वा थपघटको सम्भावना ज्यादै कम हुने गर्छ। तर, परराष्ट्र मन्त्री खड्का भने मोदीले आराम गरिरहेको समयमा मोदीको सुइटमा वार्ता गर्न पुगेका थिए जुन कुरा दुबैतर्फबाट कार्यक्रम संयोजन गरिरहेका उच्चस्तरका कर्मचारीहरुले पनि सुइको पाएनन्।

मोदीसँग यसरी गोप्यवार्ता गर्नु पर्ने अवस्था मन्त्री खड्काका लागि किन आइपर्‍याे ? अहिलेसम्म खुलेको छैन। मुलुकमा जिम्मेवार मन्त्रीले विदेशी पाहुनासँग वार्ता गरेको कुरा आम जनताले थाहा पाउनु पर्ने विषय हो तर यसबारे न त मन्त्री खड्काले नै केही भनेका छन् न त मन्त्रालयले नै।

मुलुकको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवाले मोदीसँग वान अन वान वार्ता गर्ने पनि तय भइसकेकै थियो। यसबीचमा मोदीसँग गोप्य गर्नुपर्ने के आवश्यकता आइलाग्यो मन्त्री खड्कालाई ? नेपाली जनताका प्रतिनिधि भएकाले उनले आफ्नो गोप्यबार्ताबारे जानकारी दिनु पर्दैन?

स्वाभाविक रुपमा मोदीको भ्रमणमा दुई पक्षीय वार्ताका एजेण्डहरु तय गरिएका थिए र तिनमा छलफलसहित हस्ताक्षर हुँदै थियो। मुलुकको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवाले मोदीसँग वान अन वान वार्ता गर्ने पनि तय भइसकेकै थियो। यसबीचमा मोदीसँग गोप्य गर्नुपर्ने के आवश्यकता आइलाग्यो मन्त्री खड्कालाई ? नेपाली जनताका प्रतिनिधि भएकाले उनले आफ्नो गोप्यबार्ताबारे जानकारी दिनु पर्दैन?

भारतीय पक्षसँगको गोप्यवार्ता सधैजसो नेपाल र नेपालीको अहितमा हुने गरेको विगतदेखिको इतिहास छ। गतबर्षमात्रै पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयललाई वालुवाटारमा स्वागत गरेर दिनभर गोप्यवार्ता गरेको कुराले अहिले पनि नेपालको राजनीति तरंगित छ। सो वार्तापछि नै नेपालको राजनीतिमा टुटफुट, विग्रहजस्ता घटनाहरु भएका छन्।

जनतलाई ढाँटेर वा छलेर गरिने यस्ता वार्ताहरुबारे समयमै प्रश्न उठाउनु जरुरी छ तर मुलुक स्थानीय निकायको निर्वाचनको परिणाम व्यग्रताका साथ कुरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दिने नेपाल भ्रमण गरेकोले धेरैले यो भ्रमणका विविध पक्षमा ध्यान पुर्‍याउन सकेनन्।

यही छेकोमा मुलुकविरुद्ध कुनै तानावाना त बुनिएन ? तय भएका वार्ताभन्दा भिन्नै वार्ता गर्नुपर्ने आवश्यकता मन्त्री खड्कालाई किन पर्‍याे  भन्नेबारे जनतालाई कुनै जानकारी दिइएको छैन।  यो भेटवार्तापछि मोदी र उनको समूह तथा प्रधानमन्त्री देउवा र नेपाली समूहसहितको औपचारिक वार्ता, सो वार्ता लगत्तै सबैलाई वाहिर पठाएर(प्रमपत्नी आरजु देउवालाई समेत) दुई प्रधानमन्त्रीबीच १० मिनेट गोप्यवार्ता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *