बलात्कार आरोपी पाण्डेमाथि अनुसन्धान गर्न हदम्याद बाधक, मानव वेचविखनमा मुद्दा चल्न सक्ने

डिसी नेपाल
९ जेठ २०७९ १०:१५

काठमाडौं। मुलुकी अपराध संहिताले हदम्याद तोकेको भएपनि मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौनजन्य हिंसा र बलात्कार अभियोगमा अनुसन्धान हुने भएको छ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र बलात्कार अभियोगमा अनुसन्धान गर्ने भएको हो। ‘आज (सोमबार) उजुरी परेपछि यो विषयमा अनुसन्धान शुरु हुनेछ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले भने।

उनका अनुसार आइतबार अरु पनि पीडितहरु सम्पर्कमा आएकाले उनीमाथि अनुसन्धानको दायरा फराकिलो हुने भएको हो। प्रहरीले पाण्डेलाई शनिवार स्वयम्भुबाट पक्राउ गरेपछि अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सोमबार नै अभद्र व्यवहारमा समय लिने र अभियोगमाथि उजुरी परेपछि जिल्ला अदालतमा पेश गर्ने जनाएको छ।

पाण्डे पक्राउ परेको तीन दिन भैसक्दा पनि प्रहरीले उनीमाथि कसरी अभियोग लगाउन सकिन्छ भनेर प्रमाण जुटाउन खोजिरहेको छ। उनीमाथि आइतबारसम्म प्रहरीमा लिखित जाहेरी परेको थिएन। तर पीडितहरु भने प्रहरी कार्यालयमा पुगेका थिए।

पीडितहरुले कसरी जाहेरी दिन्छन र सो जाहेरी कसरी उपत्यका अपराध अनुसन्धान कार्यालयसम्म आउछ त्यही अनुसार अनुसन्धान शुरु हुने प्रहरीले जनाएको छ।

प्रहरीले आरोप लगाउने युवतीले श्रव्य सामग्रीमा बोलिएका कुरालाई सूचनाको स्रोतका रूपमा प्रयोग गर्ने÷नगर्ने विषयमा पनि परामर्श गरिरहेको छ। प्रहरी अझै पनि कुन मुद्दा चलाउने र अनुसन्धान गर्ने विषयमा अन्योलमै छ। त्यसका लागि आवश्यक परामर्शको काम पनि भइरहेको प्रहरीस्रोतले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमध्ये कुन मुद्दा चलाउने भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन। ‘कानुनी हदम्यादलगायतका कारण जबरजस्ती करणीको मुद्दा कति सम्भव हुन्छ? त्यसमा छलफल गरिरहेका छौं। अहिलेसम्मको अवस्थामा मानव बेचबिखनमा अनुसन्धान गर्ने कि भन्ने अवस्थामा पुगेका छौं,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने।

यो मुद्दामा अगाडि बढे ‘मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४’ ऐनको दफा ४ (२) आकर्षित हुन्छ। जसमा ‘कसैको शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई गरी, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने’ कार्य मानव ओसारपसार गरेको मानिने उल्लेख छ। सो कानुनमा कुनै हदम्याद कायम गरिएको छैन

। बलात्कार कसुरको सन्दर्भमा ‘मुलुकी फौजदारी अपराध संहिता’ आकर्षित हुन्छ। बलात्कार कसुरको उजुरीको हदम्याद एक वर्षसम्म मात्रै रहेको तथा १८ वर्षभन्दा मुनिकाको केसमा १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म उजुरी गरिसक्नु पर्ने कानुनी प्रावधान छ।

तर घटना ८ वर्षअघिको रहेको र हाल युवती १८ वर्ष उमेर पूरा भइसकेकाले उनलाई यो कसुरमा मुद्दा चल्न सक्ने आधार बन्द भएको कानुनविदहरुले बताएपछि प्रहरी अलमलमा परेको छ।

ती युवतीले आरोपित पाण्डेसमेतको सहभागितामा सन् २०१४ मा आयोजित मिस ग्लोबल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता आफू सहभागी भएको जनाएकी थिइन्।

जुन कार्यक्रम सकिएपछि ‘सक्सेस पार्टी’ गर्ने भन्दै पाण्डेले काठमाडौँको एभरेस्ट होटेलमा आफूलाई बोलाएर झुक्याएर बेहोस हुने पदार्थ खुवाई पहिलोपल्ट बलात्कार गरेको आरोप लगाएकी थिइन। त्यसैक्रममा आफ्नो नग्न तस्बिर लिएर ब्ल्याकमेल गरेर ६ महिनासम्म यौनशोषण गरेको ती युवतीको दावी छ।

सोही आरोपसहितको श्रव्य सामग्री बाहिरिएपछि ‘मिटू’को विषयमा चर्को आवाज उठिरहेको छ। जुन कुरा प्रतिनिधिसभामा पनि उठेपछि शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।

त्यसअघि सरकारले शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा कार्यालयकै प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य रहेको छानविन समिति बनाएको छ।

सो समितिले पाण्डेमाथि छानवीन गरिरहेको छ। आइतबार भने आरोपित पाण्डेबाट यौन दुव्र्यवहार भएको भन्दै अर्की नाबालिका पनि प्रहरीको सम्पर्कमा पुगेकी थिइन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कोइरालाका अनुसार ती नाबालिकाको उमेर अहिले १८ वर्षभन्दा कम रहेको छ।

उनी आफ्नो साथीलाई लिएर दिउँसो काठमाडौं प्रहरी परिसर पुगेकी थिइन् । उनले त्यहाँ मौखिक रूपमा आफ्नो पीडा सुनाएपछि महिला सेल पठाइएको छ। आज उनले महिला सेलमा उजुरी दिने संभावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *