एक पालिका एक गौरवको योजना सुरु गरिन्छः मुख्यमन्त्री केसी

डिसी नेपाल
२१ जेठ २०७९ २२:५९

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रत्येक पालिकामा एउटा गौरवको योजना सुरु गर्न आग्रह गरेका छन् । शनिबार चन्द्रौटामा लुम्बिनी प्रदेशले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाइ तथा अन्तक्र्रियामा उनले जनचाहनाअनुसार विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अधिकांश पालिकाहरूमा नयाँ नेतृत्व आएको बताउँदै मुख्यमन्त्री केसीले नागरिकहरूका लागि कुनै न कुनै गौरवको योजना सुरु गर्नुपर्ने बताए । “जनताले ठूलो आशा र भरोसा गरेर निर्वाचित गरेका छन्, जनताको आवश्यकताका आधारमा काम गर्नुहोस्”, केसीले भने, “पालिकाका सकारात्मक काममा प्रदेश सरकारले सहयोग गर्न तयार छ ।”

अबको केही समयमा प्रदेश र सङ्घको निर्वाचन हुने भएकाले प्रदेश सरकारका अधुरा कामहरूलाई पूरा गर्न सरकार लागिपरेको उनले बताए । कानुन निर्माणदेखि अन्य केही कामलाई पूरा गर्न तत्पर रहेको बताए । मुख्यमन्त्री केसीले नागरिकको मागलाई पूरा गर्ने तवरबाट पालिकाले काम गर्नुपर्ने सुझाव दिए । धेरै पालिकामा नयाँ अनुहार आएकाले अवसर र चुनौतीलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकारलाई ध्यान दिँदै सहकार्य गरेर काम गर्नुपर्ने बताए। उनले जनताको सेवा गर्ने जनप्रतिनिधिको दायित्व रहेकाले तीनवटा सरकारमध्ये जनताको घरदैलोको सरकार स्थानीय सरकार रहेको बताए । प्रमुख शेरचनले पालिकालाई समृद्ध बनाउन सकियो भने प्रदेश पनि समृद्ध हुनेमा जोड दिँदै जीवनस्तर परिवर्तन हुने गरी काम गर्न पालिकाका प्रमुख उपप्रमुखलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनताले दिएको मतलाई सम्मान गर्दै विकास र समृद्धिमा सबै जनप्रतिनिधि लाग्नुपर्ने बताए । उनले जनताले विकास चाहेको र नवनिर्वाचित जनप्रतिनिधिले त्यो चाहनालाई पूरा गर्ने दायित्व रहेको जिकिर गरे । अन्तक्र्रियामा सङ्घीयताविज्ञ तथा राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा, पूर्वराजदूत लीलामणि पौडेलले सहजीकरण गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *