धनगढीको श्रीकेदार टुर्स एण्ड ट्राभल्सद्वारा करेन्ट लागेर घाइते भएका बालकलाई एक लाख सहयोग

डिसी नेपाल
२३ जेठ २०७९ १९:२७

धनगढी । कैलालीको धनगढीस्थित श्रीकेदार टुर्स एण्ड ट्राभल्सले करेन्ट लागेर घाइते भएका बालकलाई एक लाख सहयोग गरेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका घर भई हाल कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुर बस्दै आएका ललितकुमार बडैलाका १४ वर्षीय छोरा बसन्तको उपचारका लागि ट्राभल्सले सहयोग गरेको हो । ट्राभल्सका प्रोप्राइटर नवीन रावलका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बसन्तको उपचारका लागि नगद एक लाख सहयोग गरिएको हो ।

उनले करेन्ट लागेर घाइते भएका बसन्तका मामा गोकुल कुँवरलाई सहयोग रकम हस्तान्तरण गरिएको बताए । ‘करेन्ट लागेर घाइते भएका बसन्तले दुबै हात गुमाएका छन्,’ रावलले भने, ‘उपचारमा १० लाख खर्च हुने जानकारी पाएपछि ट्राभल्सका सञ्चालक र कर्मचारीबाट रकम संकलन गरेर सहयोग गरेका हौं ।’ ट्राभल्सले पछिल्लो समय सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ ।

बसन्त एक महिना अगाडि करेन्ट लागेर घाइते भएका थिए । कलिका माविको छतमा खेल्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको थियो । उनको अहिले भारतको लखनउस्थित केजी एमयू अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *