बर्दियामा प्रहरीको गोली लागेर २० वर्षकी नवीनाको मृत्यु

डिसी नेपाल
२४ जेठ २०७९ १०:४३

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बासिन्दा र प्रहरीबीचझडप हुँदा एक २० वर्षीय युवतीको मृत्यु भएको छ । नरभक्षी बाघ नियन्त्रणका माग राख्दै विरोधमा उत्रिएका स्थानीय वासिन्दा र प्रहरीबीच झडप हुदा २० वर्षीया नविना थारुको मृत्यु भएको हो ।

झडपमा १८ प्रहरी र केही स्थानीय बासिन्दा घाइते भएका छन् । स्थानीय बासिन्दा कति घाइते भएका छन भन्ने बारेमा यकिन तथ्यांक आइसकेको छैन । घाइतेमध्ये एक जना प्रहरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हृदयश सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले त्यसक्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो । गोली लागेर बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारकी थारुको मृत्यु भएको छ । उनको मृत्युपछि स्थानीय बासिन्दाहरुले राजमार्ग अवरोध गरिरहेका छन् ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए ।

स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि अश्रु ग्यास प्रहार गरेर भीड हटाउन खोजेको थियो । प्रहरीले अश्रुग्यासपछि गोली प्रहार गर्दा ती युवतीको मृत्यु भएको हो । उनी १२ कक्षामा पढ्दै गरेकी थिइन ।

सोमबार विहान स्थानीय एक महिलालाई बाघले आक्रमण गरेको कारण राजमार्ग बन्द गराउन स्थानीय बासिन्दाहरु जुटेका थिए । बाघ नियन्त्रणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको टोली परिचालन भइसकेको स्थानीय प्रशासनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *