पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ‘कू’को प्रयास गरेको आरोप

डिसी नेपाल
२७ जेठ २०७९ ८:३३
132
Shares

बीबीसी। पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष ‘कूको प्रयासमा’ त्यहाँको संसद् भवनमा हिंसा गराएको एउटा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको संसदीय सुनुवाइका क्रममा बताइएको छ। रिपब्लिकन लिज चेनीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “उक्त आक्रमणको आगो सल्काएको” बताएकी छन्।

संसदीय छानबिन समितिका प्रमुख समेत रहेका डेमोक्र्याट बेनी थम्सनले उक्त दङ्गाले अमेरिकाको “संवैधानिक लोकतन्त्रलाई जोखिममा” पारेको बताएका छन्। सन् २०२१ को ज्यानुअरीमा मच्चाइएको हिंसाबारे त्यहाँको तल्लो सदनको छानबिन समितिले गरेको पहिलो सार्वजनिक सुनुवाइसँगै उक्त घटना छानबिनको नयाँ चरण सुरु भएको बताइएको छ।

निर्वाचनमा हार बेहोरेका भए पनि तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले मत परिणाम नस्वीकार्ने बताएपछि उनका समर्थकहरूले त्यसबेला अमेरिकी संसद्‌मा हुलदङ्गा गरेका थिए। त्यसक्रममा केही व्यक्तिहरूको ज्यान गएको थियो भने पछि दङ्गामा संलग्न कैयौँलाई फौजदारी अभियोग पनि लगाइएको थियो।

त्यस घटनामा मस्तिष्कमा चोट लागेकी एक महिला प्रहरी अधिकृत र अति दक्षिणपन्थीहरूको छायाङ्कन गरेका एक ब्रिटिश वृत्तचित्र निर्माताले सुनुवाइमा आक्रमणको प्रमाण दिने बताइएको छ।
उक्त समिति ट्रम्पको सबैभन्दा नजिकका सदस्यहरूसँग लिइएको बयानमा पनि केन्द्रित हुनेछ।

घटनाबारे समितले एक हजार मानिससँग अन्तर्वाता लिएको छ। स्थानीय समयअनुसार साँझको ८ बजे उक्त सुनुवाइ सुरु भएको हो। सार्वजनिक सुनुवाइका लागि प्राइम टाइम भनिने सबैभन्दा बढीले टेलिभिजन हेर्ने समयलाई छानिएको छ। त्यसको टेलिभिजनहरूमा प्रत्यक्ष प्रसारण भइरहेको छ।

एक वर्ष लामो अनुसन्धानबाट प्राप्त निष्कर्षलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको हो। यसै महिनाभित्र हुने छवटा त्यस्ता सुनुवाइमध्येको यो पहिलो भएको ठानिएको छ। डेमोक्र्याटको नेतृत्व भएको उक्त समितिको अनुसन्धानले रिपब्लिकन ट्रम्पले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणलाई रोक्न षड्यन्त्र गरेको देखाउने उद्देश्य राखेको छ। उक्त समितिका प्रमुख बेनी थम्सनले सुनुवाइअघि “जन चाहनालाई विफल पार्ने षड्यन्त्र” जारी रहेको बताएका थिए।

रिपब्लिकनहरूले समितिलाई अवैधानिक भन्दै त्यसको निन्दा गरेका छन्। घटनामा संलग्न भएको आरोपमा बिहीवार एफबीआईले मिशिगनका गभर्नर पदका उम्मेदवारलाई गिरफ्तार गरेको थियो।

डेमोक्र्याटहरूले सुनुवाइलाई अमेरिकी लोकतन्त्रको लागि महत्त्वपूर्ण क्षणको रूपमा हेरेका छन्। यो सन् २०२१ को ज्यानुअरी ६ मा भएको घटनाको इतिहासको लागि औपचारिक विवरण राख्ने मौका मात्र होइन। यो त लोकतान्त्रिक संस्थाहरूलाई भविष्यको विद्रोहबाट जोगाउन कानुनी सुधारको मार्ग प्रशस्त गर्ने अवसर पनि हो।

अर्कातिर अधिकांश रिपब्लिकनहरूले यी पछिल्लो सुनुवाइहरूलाई आफ्ना विपक्षीहरूले ट्रम्पको र विस्तारमा उनीहरूको पार्टीको राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयासहरूको लामो शृङ्खलाको अंशका रूपमा हेरेका छन्। उनीहरू यसलाई पक्षपातपूर्ण नाटकघरभन्दा अरु केही नभएको बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *