दिनमा १०० देखि २०० युक्रेनी सैनिक मारिँदै
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले बीबीसीसँगको कुराकानीमा हरेक दिन करिब १०० देखि २०० युक्रेनी सैनिक फ्रन्टलाइनमा मारिने गरेको दाबी गरेका छन् ।
यो संख्या अघिल्लो अनुमानभन्दा बढी हो । बिहीबार युक्रेनका रक्षामन्त्रीले युक्रेनले हरेक दिन आफ्ना १०० सैनिक गुमाउने र ५०० भन्दा बढी घाइते भएको दाबी गरेका छन् ।
मिखाइलो पोडोलियाकले पूर्वी डोनबासमा चलिरहेको युद्धमा रुससँग बराबरी गर्न युक्रेनलाई सयौं पश्चिमी तोपहरूको आवश्यकता रहेको बताए। उनले जोड दिएरै कीभ मस्कोसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार नभएको बताए।
युक्रेनी सेनाले लगातार गोलीबारी र बम आक्रमणको सामना गरिरहेको छ। डोनबास युक्रेनको क्षेत्र हो जहाँ भीषण युद्ध चलिरहेको छ। रूसी सेना सम्पूर्ण डोनबास नियन्त्रण गर्न कोशिस गर्दैछ।
पोडोलियाकले भने, ‘रुसी सेनाले यस युद्धमा परमाणु बम बाहेक सबै हतियार प्रयोग गरेको छ। चाहे त्यो भारी आर्टिलरी होस्, रकेट प्रक्षेपण होस् वा हवाई हमला होस्।’
युक्रेनले लगातार पश्चिमी देशहरूसँग हतियारको माग गर्दै आएको छ। सोही माग दोहोर्याउँदै पोडोलियाकले रुस र युक्रेनसँगको सेना र हतियारको असमानता नै युक्रेनलाई हुने क्षतिको मुख्य कारण भएको बताए ।
शान्ति वार्ताका सम्बन्धमा उनले रुसी सेनाहरू फेब्रुअरी २४ मा आक्रमण सुरु हुनुअघि भएको ठाउँमा नफर्केसम्म युक्रेन शान्ति वार्ताको टेबलमा नआउने बताए।







डिसी नेपाल







Facebook Comment