बसले ठक्कर दिँदा सहचालकको घटनास्थलमै मृत्यु

डिसी नेपाल
२७ जेठ २०७९ १०:४०

चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवा खोला नजिक बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा काठमाडाैंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने वर्ष २३ को जनक दाहाललाई ठक्कर दिदा दाहालको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले घटनास्थल तथा लास जाँच मुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । ‘सवारी आवागमन अझै सहज भएको छैन। गाडी अगाडि सहचालक भएको बेला गाडी अगाडि बढाउँदा घटना भएको हुन सक्छ’, उनले भने।

बिहीबार राति पृथ्वी राजमार्गको विभिन्न स्थानमा गएको पहिरोका कारण अझै पनि यातायात सेवा सहज भएको छैन। ट्राफिक नियमको पालना नगर्दा आवागमन अस्तव्यस्त बनेको स्थानीय पत्रकार दानबहादुर गुरुङले बताएका छन्।

आँबुखैरहनीमा सडक भाँसिएपछि पोखरातर्फ जाने गाडीहरु अड्किएको र त्यसले गर्दा समस्या भएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *