अमेरिकी जनरलको भनाइप्रति चीनको कडा प्रतिक्रिया
काठमाडौं । लद्दाखको बारेमा अमेरिकी उच्च सैन्य जनरलले गरेको दावीप्रति चीनले कडा प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयले भन्यो– ‘भारत र चीनले वार्ताबाटै सीमा समस्या समाधान गर्न सक्छन् ।’
चीनले अमेरिकाले आगोमा इन्धन थपेको र शान्तिलाई खतरामा पारेको आरोप पनि लगाएको छ । बेइजिङले भारत–चीन सीमामा सैन्य गतिरोध स्थिर हुँदै गएको दाबी गरेको छ ।
भारत भ्रमण गरेका अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले लद्दाखमा चीनको कारबाहीलाई खतराको घण्टी भनेका थिए। उनले भनेका थिए– चीनको यस्तो रवैयाले छिमेकी मुलुकसँगको सम्बन्ध बिग्रँदै गएको छ । अमेरिकी जनरलले हिमालय क्षेत्रमा चीनले गरिरहेको बृहत् निर्माणको बारेमा चर्चा गरिरहेका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने- सीमा विवाद चीन र भारतको हो। दुवै पक्षले वार्ताबाट समस्या समाधान गर्न सक्छन् । केही अमेरिकी अधिकारीहरूले आगोमा इन्धन थप्न र औंला उठाउन खोजिरहेका छन्। यो लज्जास्पद छ। हामी आशा गर्दछौं कि उनीहरूले भविष्यमा त्यसो गर्नेछैनन्। शान्ति र स्थायित्व कायम गर्न प्रयास गरिनेछ।
झाओ लिजियानले भने- पूर्वी लद्दाखमा दुई देशबीच विगत दुई वर्षदेखि चलिरहेको सैन्य गतिरोध अहिले स्थिर हुँदैछ। उनले दुवै देशका सेना पछि हटेको दाबी पनि गरे । तर, सीमामा अझै पनि यस्ता धेरै नाका छन् जहाँ सेना आमनेसामने छन् ।
सन् २०२० को मे महिनामा पूर्वी लद्दाखको पाङ्गोङ सो क्षेत्रमा दुई देशका सेनाबीच हिंसात्मक झडप भएको थियो । गत महिना चीनले पूर्वी लद्दाखको प्यांगोङ तालको वरिपरि पुल निर्माण गरिरहेको देखियो । उसले यस क्षेत्रमा आफ्नो फौजलाई छिटो परिचालन गर्न सेनालाई सघाउन यस्तो कदम चालेको हो ।







डिसी नेपाल







Facebook Comment