विपद् व्यवस्थापन बैठकमा बाँदर नियन्त्रण बारे छलफल

डिसी नेपाल
२८ जेठ २०७९ २३:४८

खोटाङ । बाँदर आतंकबाट किसान आजित छन् । तर बाँदर, दुम्सी लगायतका वन्यजन्तुबाट अन्नबाली जोगाउने भरपर्दो उपाय अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बाँदरले अन्नबाली खाइदिएपछि कतिपय किसानको उठीबास भइरहेको छ ।

यसैसन्दर्भमा खोटाङमा विपद् व्यवस्थापन समितिको बैठकले बाँदर, दुम्सी लगायतका वन्यजन्तुको समस्या यथोचित समाधानका लागि विपद् व्यवस्थापन प्राधिकरण समक्ष माग गर्ने निर्णय गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल, सुरक्षा निकाय र गैरसरकारी संघसंस्थाको बैठकले बाँदर, दुम्सी लगायतका वन्यजन्तुको समस्या हल गर्दै किसानलाई राहत दिलाइनुपर्ने माग उठाएको हो ।

खोटाङमा बाँदर नियन्त्रणका विभिन्न प्रयास भएका उदाहरण छन् तर त्यी प्रयास विफल भएका थिए । २०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार सिकारी ल्याएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छार्का, लुछिमलगायतका स्थानबाट दर्जनौं बाँदर समातियो ।

नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन २०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर, निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत २०७६ मा हलो, जुवा, दाँते र कोदालोसहित र्‍याली प्रदर्शन गरेका थिए । बाँदरबाट पीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपायको खोजीको माग गर्दै दिक्तेलको हुलाकडाँडादेखि त्रिबेणीचोक हुँदै नगरपालिकासम्म र्‍याली निकालेको थियो । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *