सहकारीबाट कृषकलाई ७५ प्रतिशत छुटमा कृषि उपकरण

डिसी नेपाल
२९ जेठ २०७९ ७:१५

पाँचथर।  सदरमुकाम फिदिममा रहेको हातेमालो कृषि सहकारी पछिल्लो समय कृषकका लागि कृषि उपकरण उपलब्ध गराउने संस्थाको रुपमा चिनिन थालेको छ ।

स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पतालसमेतको छनोटमा नपर्ने साना किसानहरुलाई यो सहकारीले ७५ प्रतिशत अनुदान सहयोगमा खेतबारी जोत्ने मिनीटिलर, घाँस टुक्य्राउने चापकटर, मकै, धान कुट्ने कम्बाइण्ड मिलदेखि धान र गहुँ झार्ने थ्रेसरसम्म उपलब्ध गराउँदै आएको छ । यो समग्र जिल्लामै सहकारीले गरेको राम्रो प्रयासको रुपमा लिन थालिएको छ ।

१ नम्बर प्रदेश सरकार, सांसद कोष, फिदिम नगरपालिका र केही पालिकाको आर्थिक सहयोगमा सहकारीले कृषकलाई कृषि उपकरण उपलब्ध गराएको हो । सहकारीका उपाध्यक्ष सूर्यकुमार निरौलाका अनुसार गत वर्षदेखि कृषकलाई आधुनिक कृषि प्रविधि हस्तान्तरण गर्न थालिएको हो । उनले भने, ‘हामीले १ सय थान चापकटर, ९१ थान कम्बाइण्ड मिल, २० थान थ्रेसर र ४ थान मिनिटिलर बितरण गरिसकेका छौं, र योक्रम निरन्तर चलाउने योजना पनि छ ।’

प्रदेश सरकारका तत्कालीन कृषि मन्त्री राम राना, संघीय संसद बसन्तकुमार नेम्बाङ, प्रदेश आर्थिक मामिला मन्त्री इन्दंबहादुर आङबो, फिदिम नगरका तत्कालीन मेयर ओनाहाङ नेम्बाङ, प्रदेश संसद सीता थेबेसमेतको पहल र सहजीकरणमा करिव ८० लाख रुपैयाँजति श्रोत जुटाएर कृषकलाई सहुलियतमा सामान वितरण गरेको हो ।
२०६३ मा स्थापना भएको यो सहकारीमा १ हजार ६ सय १६ जना सेयर सदस्य छन् ।

जिल्लाका ८ वटै पालिकाका कृषक समेटेको सहकारीले यो वर्ष ५ करोड ३० लाख रुपैयाँ आर्थिक कारोबार गरेको उपाध्यक्ष निरौलाले जानकारी दिए । साना कृषकलाई २० लाख रुपैयाँसम्म सहुलियत ऋण र कर्जा दिँदै आएको हातेमालोले फिदिम– ३ मा ११ लाख २० हजार रुपैयाँ खर्चेर २ रोपनी जग्गा खरिद गर्दै आलु बीउ भण्डारण कक्ष पनि बनाएको छ ।

सहकारीको आफ्नै भवन

यो सहकारीले फिदिम बजारको केन्द्रमा जग्गा खरिद गर्दै पक्की भवन पनि निर्माण गरेको छ । यो भवनमा हाल सुलभ तरकारी पसल सञ्चालनमा ल्याएको छ भने मासु र दुग्ध पदार्थ बिक्री कक्ष सञ्चालनको तयारी छ । सामान्यतयाः सहकारीहरुले एक कोठा भाडामा लिएर कारोबार गर्छन् ।

तर, हातेमालोले जग्गा खरिद गरेर भवन नै बनाउनु दीगो सोच र सहकारी भावनाको नमुना भएको सहकारीका सदस्य नवीन घिमिरेको भनाइ छ । ‘कृषकलाई दूध उत्पादन र घाँस खेतीका तालिम दिने, तरकारीका बीउ निःशुल्क उपलब्ध गराउनेजस्ता कामको प्रशंसा हुने गरेको सहकारीका अर्का सदस्य डिल्ली सुवेदीको बुझाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *