मंकीपक्सको स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने, डब्लुएचओले बोलायो आकस्मिक बैठक

डिसी नेपाल
१ असार २०७९ ११:११
124
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडनोम गेब्रेयससले मंकीपक्सको विश्वव्यापी प्रकोप स्पष्ट रूपमा असामान्य र चिन्ताजनक रहेको मङ्गलबार बताएका छन्। गेब्रेयससले अर्को हप्ता आपतकालीन समितिको बैठक बोलाएका छन्।

यस बैठकमा मंकीपक्सको यो प्रकोप अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकालिन हो कि होइन भनेर मूल्याङ्कन हुनेछ। गेब्रेयससले मिडिया ब्रिफिङमा यो वर्ष अहिलेसम्म ३९ देशबाट १ हजार ६ सयभन्दा बढी पुष्टि भएका र करिब १ हजार ५ सय शंकास्पद बिरामी भएको जानकारी दिएका छन् ।

डब्लुएचओका महानिर्देशकले बताएअनुसार ३९ देशमध्ये सातवटा देशमा मन्कीपक्सका केसहरू वर्षौंदेखि रिपोर्ट भइरहेका छन् भने ३२ नयाँ प्रभावित देशहरू रहेका छन् । यसबाहेक प्रभावित मुलुकबाट यस वर्ष अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ भने नयाँ प्रभावित मुलुकमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । यद्यपि, डब्लुएचओले ब्राजिलमा मंकीपक्सबाट मृत्यु भएको रिपोर्ट प्रमाणित गर्ने प्रयास गरिरहेको छ।

अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचइआइसी) डब्लुएचओद्वारा एक असाधारण घटनाको औपचारिक घोषणा हो। डब्लुएचओले पीएचइआइसी घोषणा गरेको रोगबाट अन्य देशहरू सचेत हुन्छन्।

बेलायतमा करिब ५०० मंकीपक्सका घटनाहरू रिपोर्ट गरिएका छन्। बेलायतको हेल्थ प्रोटेक्शन एजेन्सीका अनुसार अधिकांश समलिङ्गी पुरुषहरू यो रोगको चपेटामा छन्। बेलायतको तथ्याङ्क अनुसार हालसम्म ९९ प्रतिशत संक्रमण पुरुषमा भएको छ, जसमध्ये अधिकांश लन्डनमा छन्। बेलायतपछि स्पेन, जर्मनी र क्यानडामा पनि यसका केसहरू सार्वजनिक भइरहेका छन् ।

आधिकारिक तथ्यांकको कुरा गर्ने हो भने, विश्वभर १ सय भन्दा बढी संदिग्ध र पुष्टि भएका केसहरू भेटिएका छन्। अर्कोतर्फ, क्यानडा, अष्ट्रेलिया र फ्रान्स जस्ता देशहरूमा यो रोगको सम्भावित नमूनाहरूको अनुसन्धान भइरहेको छ। यो रोगबाट मृत्युदर १० प्रतिशतसम्म पुग्ने विज्ञहरुको विश्वास छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *